एएफसी यू-२३ छनोट खेल्ने खेलाडीले दशै बिदा नपाउने

अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू-२३ टोलीलाई दसैंमा बिदा नदिने भएको छ ।

आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी एसियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई क्लोज क्याम्पबाट नछाड्ने एन्फाले निर्णय गरेको हो । हाल क्लोज क्याम्पका लागि एन्फाले खेलाडीलाई होटलमा राखेको छ । एन्फाले उपत्यकामै परिवार भएका खेलाडीको हकमा भने टीकाका दिनमात्रै परिवारलाई जिम्मा लगाएर छाड्ने बताइएको छ ।

‘टीकालगत्तै खेल्न जाने भएकाले खेलाडीको फिटनेशलाई मध्यनजर गर्दै यसपटक दसैंमा घर जान पाउने छैनन् । उपत्यकामा परिवारसँग रहेका खेलाडीको हकमा भने सोही दिनको लागि मात्रै पारिवारलाई जिम्मा लगाएर जान दिन्छौं ।’ यू-२३ राष्ट्रिय टोलीका व्यवस्थापन (म्यानेजर) उत्तम भण्डारीले भने ।

नेपाली टोली २ कार्त्तिकमा प्रतियोगिता खेल्न ताजकिस्तान प्रस्थान गर्नेछ । यसअघि १५ असोजमा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विभागीय नेपाल पुलिस क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेलाउँदै पहिलो चरणमा १० खेलाडीलाई बाहिर राख्दै ३२ खेलाडी छनोट गरेका थिए ।

उनले आइतबारमात्रै २३ सदस्यीय खेलाडी छनोट गरेका छन् । तर नाम भने सार्वजनिक गरेका छैनन् । केही खेलाडीको अझै फिटनेश समस्या र कतिको एमआरआईको समस्यासमेत देखिएकाले हाल नाम सार्वजनिक गरिएको छैन ।

हाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा यू-२३ टोलीबाट ७ खेलाडी रहेका छन् । मालेमासमेत ती खेलाडी प्लेईङ सेटमा खेलिरहेको र यदि चोट बोकेको अवस्थामा अन्य खेलाडीलाई झिकाउन पर्ने हुँदा अन्तिम २३ नाम सार्वजनिक नभएको स्रोतले बतायो ।

यसअघि प्रशिक्षक बालगोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दिनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई टोली बाहिर राखेका थिए ।

समूह ‘बी’ मा रहेको नेपालले बलियो इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेलमा २५ अक्टोबरमा इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ ।

प्रशिक्षक महर्जनले छनोट गरेको ३२ खेलाडीमा हाल साफ च्याम्पियनसिप खेलिरहेको टोलीबाट ७ खेलाडी रहेका छन् । यस्तै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी टोलीमा समावेश छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार