रोल्पामा एक पुरुषको घाँटी रेटी हत्या

रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

घरमा एक्लै रहेका बुढाको सोमबार बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोरेर हर्दा हत्या भएको अवस्थामा पाइएको प्रनानि सुवेदीले जानकारी दिए । घटना शङ्कास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रनानि सुवेदी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ ।

बुढा नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता भएको नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोरकुमार आचार्यले बताए । गत साउन २३ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएका थिए । श्रीमतीको केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा घरमा एक्लै बस्दै आएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार