मोतीपुर घटना : एमालेले माग्यो सरकारको जवाफ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुटवलस्थीत मोतीपुरमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।  राष्ट्रियसभाको सोमबारको बैठकको सुरुमै एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले मोतीपुरमा सुकुम्वासीको आन्दोलनका क्रममा चार जनाको ज्यान गएको घटनाका बारेमा सरकारको जवाफ माग गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
उनले घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरे । अरूका लागि दसैँ आए पनि सुकुम्वासीका लागि दशा आएको भन्दै दशा निम्ताउने काम सरकारले गरेको उनले बताएका छन् । उनले त्यही जिल्लाका गृहमन्त्री केन्द्रमा रहेपनि मौन रहेको भन्दै गृहमन्त्रीलाई कुर्सीमा बस्ने नैतिकता नभएको जिकिर गरे ।
त्यस्तै भट्टराईले दार्चुला घटनामा पनि गैरजिम्मेवार भएको बताएका छन् । दूषित र कमजोर राजनीतिको सुरुवात भएको र जसका कारण लोकतन्त्र र गणतन्त्र कमजोर भएको आरोप लगाए । यसअघिका आफ्ना मागहरूका विषयमा कुनै सम्बोधन नभएको भन्दै उनले सोमबार पनि राष्ट्रिय सभा बैठकमा विरोध जारी रहेको बताए ।
बैठकमा कानूनमन्त्री दिलेन्द्र बडुले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ लाई फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्तुत प्रस्तावलाई स्वीकृत गरेको छ । त्यस्तै बैठकमा दशैको शुभकामना दिँदै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जनताका चाहना अनुसार मुलुकलाई सहमतिका साथ नै विकासको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार