प्रदेश १ मा विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति, एकैदिन २२ जनाले नियुक्ति पाए

‘गुण्डा नाइके’लाई खेलकुद बोर्ड सदस्यसचिवको जिम्मेवारी

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत छलेर धमाधम राजनीतिक नियुक्ति बाँड्न थालेका छन् ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप २२ जनालाई नियुक्ति दिएको हो । प्रदेश पर्यटन बोर्डमा ६, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाकार समितिमा ११ जनालाई नियुक्ति गरिएको हो ।

प्रदेश सरकारले फणिन्द्र अधिकारी, देवी गौतम, भीमराज राई, उमेश घिमिरे, प्रेरणा थापा र इन्दिरा श्रेष्ठलाई पर्यटन बोर्डमा नियुक्त गरेको हो ।

प्रदेश खेलकुद विकास बोर्ड गठन गरिएको छ । जसमा पाँचथरका बाबा मेयाङ्वो उपाध्यक्ष बनेका छन् । भेषराज कार्की, विप्लव घोष र थलु राजभण्डारी सदस्यमा नियुक्त भएका छन् । सदस्य सचिवमा ‘गुण्डा नाइके’ कृष्ण बस्नेत (पर्शुराम) चयन भएका छन् । बस्नेतले गत भदौ २५ गते सम्पती शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका थिए ।

एमालेको संरक्षणमा लामो समय गुण्डागर्दी गरेका बस्नेत ‘डन’ भनेर परिचित छन् । प्रहरीले भने डनको सट्टा ‘गुण्डा नाइके’ भन्ने गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएका बस्नेत केही वर्षयता राजनीतिक गतिविधिमा सक्रिय छन् ।

यस्तै प्रदेश श्रम सल्लाहकार समिति पनि बनाइएको छ । जसको उपाध्यक्षमा राजीव घिमिरे रहेका छन् । भीम घिमिरे, सरोज श्रेष्ठ, सीता उपाध्याय, रज्जु सिग्देल,किशोर धमला,अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, टीका प्रसाईँ र निलम साह सुनार सदस्यमा नियुक्त भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार