युनियन लाइफ इन्स्योरेन्सद्वारा मृतक पुनको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काँठेखोला गाउँपालिका वडा ५ बिहुँकोटका मृतक इन्द्र बहादुर पुनको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । उनको परिवारलाई युनियन लाइफ इन्स्योरेन्सले आइतबार १० लाख ७० हजार ५ सय रुपैयाँ मृत्यु दाबी रकमको चेक हस्तान्तरण गरेको हो ।

४७ वर्षीय पुनको गत साउन ५ गते घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो । मृतक पुनका श्रीमती, ३ छोरी र १ छोरा छन् । कम्पनीको तर्फबाट प्रादेशिक उपप्रमुख बलराम गौतम, सिनियर म्यानेजर एजेन्सी नानी माया सापकोटा र वडा नम्बर ५ अध्यक्ष शिव प्रसाद कँडेलद्वारा संयुक्त रूपमा मृतक पुनकी श्रीमती जमुना पुनलाई चेक हस्तान्तरण गरिएको थियो । आर्थिक अवस्था कमजोर रहेका पुनको परिवारलाई यो रकमले ठूलो सहयोग पुग्ने अध्यक्ष कँडेलले विश्वास व्यक्त गरेका छन् ।

रकम हस्तान्तरण गर्दै प्रादेशिक उपप्रमुख गौतमले मानिसहरुलाई बीमाको महत्त्व बुझाउन समाजमा यसबारे कार्यक्रम गर्नुपर्ने बताए । मानिसको जीवन कस्तो चक्रमा चलेको हुन्छ भन्ने कसैलाई थाहा नहुने हुनाले भई परि आउने घटनामा पीडितहरूको परिवारमा पर्ने पिडामा जीवन बीमाले केही मलहम पट्टि लगाउने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार