लुम्बिनीमा नवनियुक्त १० मन्त्रीहरुले लिए शपथ

कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

आइतबार शपथ लिनेमा माओवादी केन्द्रबाट मन्त्री बनेका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले पनि आइतबार शपथ लिएका छन् ।

यस्तै माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी सुष्मा यादवले पनि शपथ लिएका छन् ।

यस्तै कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँले पनि सपथ लिएका छन् ।

कांग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले सपथ लिएकी छन् । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री भएकी हुन् ।

नेकपा एकीकृत समाजवादीकी रमा घर्तीले कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको शपथ लिएकी छन् ।

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी गराइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार