सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दावी

प्रमुख विपक्षी दल नेकपा एमालेले संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन् ।

लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् ।

बाँस्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै सभापति शाहको राजीनामा समेत माग गरे । उनले भने, ‘हामी लोकतान्त्रिक अभ्यासमा छौं । यो हाम्रो प्रणाली मात्रै होइन जीवन पद्धति पनि हो । र हाम्रा परम्पराहरु, व्यवस्थाहरुको कारणले गर्दा पनि अरुलाई हाम्रा अभ्यासहरूको कारणले पनि अपवादबाहेक लेखा समितिको नेतृत्व सामान्यतयाः संसारभरीनै प्रतिपक्ष दलले गर्ने व्यवस्था छ । यस सम्बन्धमा म ध्यानाकर्षण मात्रै गराउन सक्छु सभापतिज्यूसँग व्यक्तिगत भन्दा पनि आफूले प्रणालीको कुरा उठाउन चाहे । म अनुरोध गर्न चाहन्छु, सन्देश दिन चाहन्छु–अहिलेको सत्ता पक्षलाई लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्ने कुरा । त्यसको अर्थ हाम्रो परम्परागत प्रणाली र मर्यादालाई नभत्काइयोस् भन्ने कुरा चाहन्छु ।’

नेकपा सत्तामा भएका बेला विपक्षले सभापति पाएको थियो । अहिले सत्तारुढ गठबन्धनले यति लामो समयसम्म पनि लेखा समिति विपक्षका लागि नछाडेको भन्दै बास्कोटाले साहलाई मार्ग प्रशस्त गर्न सुझाएका हुन् ।

बास्कोटाको भनाइमा एमालेकै अर्का सांसद राजेन्द्र गौतमले पनि समर्थन जनाएपछि सभापति साहले आफूले राजीनामा दिन नमिल्ने भन्दै अरु कुरा आफ्नो हातमा नरहेको जवाफ दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार