सुनाकोठीमा मान्छे मरेको पासो महँगोमा बेच्ने भन्दै महिलाको हत्या, तीन जना पक्राउ

मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा तीन जनाको समूहले एक महिलाको ज्यान लिएको छ ।

नुवाकोट घर भई ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा बस्ने ४५ वर्षीया कमला तामाङको शव गत भदौ २५ गते बिहान फेला परेको थियो । टहरोमा एक्लै बस्ने कमलाको हत्या आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगर छन् ।

डोरी बिक्री गरेर लाखौं कमाउने लोभमा कमलाको हत्या गरेको अभियोगमा महानगरीय अपराध महाशाखा, बानेश्वरले तीन जनालाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरुले डोरी बिक्री हुने अफवाहमा विश्वास गरेर तामाङको घाँटीमा डोरीले कसेर हत्या गरेको पाइएको छ । हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर फरार रहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार