थुनुवाको मृत्यु भएपछि सुनसरीमा झडप, प्रहरीसहित एक दर्जन बढी घाइते

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ ।

अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीले हत्या गरेको आफन्तले आरोप लगाएका छन् । हिरासतभित्र केही सामग्री छिर्न नदिने गरेकाले कसरी हकिवले हिरासतभित्र पासो लगाएर आत्महत्या गरेको भन्दै आफन्तको आरोप छ ।

आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टाइर बालेर प्रदर्शन गरिरहेका छन् । स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार