मन्त्री हमालले प्रधानमन्त्री देउवालाई बुझाए राजीनामा पत्र

विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेर अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् । सचिवालय स्रोतले भन्यो, ‘उहाँले राजीनामा पत्र बुझाउनु भएको छ ।’

मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिने घोषणा गरेका थिए ।  देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए ।

हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार