गण्डकी प्रदेशलाई प्रधानमन्त्री देउवाले साक्षर घोषणा गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् । पोखरामा उनी गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रम अनुसार १०.३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर गण्डकी प्रदेशको स्तम्भ अनावरण गर्नेछन् ।यसपश्चात् पोखरा सभागृहमा साक्षर गण्डकी प्रदेश घोषणा समारोहको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।

जिल्लाहरु साक्षर घोषणा भएको ४ वर्षपछि गण्डकी प्रदेशलाई आज घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह (१५–६०) को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरण भइ विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औषत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा आज गण्डकी प्रदेशलाई घोषणा गर्न लागिएको हो । गण्डकीका ८५ वटै पालिका र ११ वटै जिल्लाले साक्षर घोषणा गरिसकेकाले आज प्रदेशलाई घोषणा गर्न लागेको हो ।

ती कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति देउवा कांग्रेस पोखरा महानगरपालिका–१७ इकाइ समितिको आयोजना हुने विजयादशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने कांग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार