जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा जिन एक्सपर्ट मेसिन जडान

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा जिन एक्सपर्ट मेसिन जडान गरिएको छ । क्षयरोग पत्ता लगाउन र यो रोगको विरुद्धमा प्रयोग गरिने औषधिहरूले काम गरेको नगरेको पत्ता लगाउन यो मेसिन जडान गरिएको जिल्ला अस्पतालका वरिष्ठ ल्याब असिस्टेन्ट चन्द्रसिंह डोबालले जानकारी दिए ।

क्षयरोगको पहिचान तथा क्षयरोगका बिरामीहरूका लागि प्रयोग गरिने रिफाम्पिसिन औषधिले काम गरे नगरेको बारेमा परीक्षण गर्न सो मेसिनले सहयोग गर्ने उनले बताए ।

क्षयरोगका बिरामीहरूका लागि औषधिले काम गरिरहेको भए पनि ६ महिना नियमित रूपमा औषधि खुवाउनुपर्ने र औषधिले काम नगरेको पाइएमा २० महिना औषधि खुवाउनुपर्ने हुन्छ । क्षयरोगका बिरामीको उपचारका लागि यो कुरा पत्ता लगाउन जिन एक्सपर्ट मेसिनले काम गर्ने डोबालको भनाइ छ । उनकाअनुसार राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको सहयोगमा जिल्ला अस्पतालमा सो मेसिन जडान गरिएको हो ।

जिल्ला अस्पतालमा यो सेवा सुचारु भएसँगै अब क्षयरोगका बिरामीले थप चेकजाँचका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । क्षयरोगका बिरामीको उपचारमा प्रयोगका भएका औषधिले काम गरे नगरेको विषयमा जानकारी लिन पहिला बिरामीलाई डडेलधुरा तथा धनगढी पठाउनुपर्ने बाध्यता रही आएको थियो ।

जिल्ला अस्पतालमै यो सेवा सुरु भएपछि अब बिरामीहरूलाई पनि सजिलो हुने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका प्राविधिकहरूको टोलीले जिल्ला अस्पतालमा सो मेसिन जडान गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार