पत्रकार महासंघको चुनावमा कसको पल्लाभारी ? यी हुन केन्द्रका बलिया उम्मेदवार

समीकरणमा शङ्का बढी, गठबन्धन भत्काउने र चुनाव जित्ने रणनीतिमा उम्मेदवार

बुधबार (आज) नेपाल पत्रकार महासंघको २६औ महाधिवेशन हुँदैछ । नयाँ नेतृत्वका लागि देशभरका करिब १४ हजार साधारण सदस्यले पहिलो पटक प्रत्यक्ष मतदान गर्न पाउने निर्वाचनमा ५२ पदका लागि १ सय ९३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार चुनावमा भाग लिने गरि केन्द्रीय समितिको ४९ र लेखा समितिका तीन गरी ५२ पदमा १९३ जना उम्मेदवारले मत मागिरहेका छन् ।

अध्यक्षका लागि उम्मेदवारी दिएका ४ जनाको नाम मतपत्रमा हुनेभएपनि एकजना आफु चुनावी मैदान छाडेको घोषणा गरेकाले अब तिन जना उम्मेदवार बीच प्रतिष्पर्धा हुनेछ । वरिष्ठ उपाध्यक्षमा पनि उम्मेदवारी दिएका तीनजनामध्ये एकजना चुनावी मैदानबाट भाग्ने निर्णयमा पुगेपछि मतपत्रमा ३ जनाकै नाम भएपनि प्रतिष्पर्धी दुईजना मात्रै हुनेछन । यस्तै पदाधिकारीका लागि महिला उपाध्यक्षमा २ र समावेशी उपाध्यक्षमा २ जनावीच प्रतिष्पर्धा हुदैछ ।

महासचिवमा भने ३ जनावीच प्रतिष्प्रर्धा हुदैछ । खुला सचिवमा भने ४ जना उम्मेदवार छन । यसबाहेक कोटातर्फका सचिवमा महिला २, आदिवासी जनजाती ३, मधेशी ३, दलित २, मधेशी ३ र एशोसियटतर्फ ६ उम्मेदवारको नाम मतपत्रमा हुने भएपनि एकजनाले मैदान छाड्ने निधो गरेकाले ५ जनाबीच प्रतिष्पर्धा हुदैछ ।

महासंघको आर्थिक हिसाव किताव र खर्चलाई चुस्त दुरुस्त राख्न कोषाध्यक्ष र लेखा समितको व्यवस्था भएकाले यसपटक कोषध्यक्षमा ४ जनाको नाम मत पत्रमा हुने भएपनि एकजनाले मैदान छाडेकाले तीनजनाबीच प्रतिष्पर्धा हुनेछ । यस्तै दुई सदस्य र एक संयोजक हुने लेखा समितिमा संयोजकका लागि ३ जना र सदस्यका लागि पुरुष ३ र महिला ३ गरि ९ जना प्रतिष्पर्धामा छन ।

अध्यक्षको पहिलो नम्बरमै उम्मेदवारी दिएका गजेन्द्र बुढाथोकी महासंघमा दलीय सिन्डिकेट अन्त्य गर्न भन्दै स्वातन्त्र उम्मेदवारी दिएका भएपनि मुख्य दुई प्यानल यसपटक चुनावी मैदानमा छन । प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी लगायतका संगठन प्रेस युनियनको नेतृत्वमा विपुल पोखरेललाई अध्यक्ष बनाएर अघि बढेको छ भने प्रेस चौतारीको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी गठबन्धन बनाएर अध्यक्षमा निर्मला शर्मा सहितको प्यानल मैदानमा छ । यसअघिका चुनावमा जस्तै यसपटक पनि बागि हाल्ने र स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिनेहरु पनि धेरै छन । प्रेस युनियनसहितका गठबन्धनको नेतृत्व गरेका विपुल पोखरेलको बागीस्वरुपमा अध्यक्षमा युनियनकै रामप्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन । उनको नाम मतपत्रमा देखिएपनि आफु मैदान छाडेको घोषणा गरेकाले अध्यक्षमा अब गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेलबीच प्रतिष्पर्धा हुनेछ ।

विभिन्न संगठनबीचको गठबन्धन, चुनावी रणनीति र प्रचारप्रसारका हिसावले स्थानीय निकाय वा संसदीय निर्वाचनलाई माथ खुवाउने गरि तातेको माहोल हेर्दा लाग्छ यसपटकको चुनाव असाध्यै रोचक र नेक टु नेकको प्रतिष्पर्धा हुने अनुमान गर्न सकिन्छ । सरसर्ती यसपटक मतदान गर्न पाउने देशभरका सदस्यहरुको सङ्ख्यात्मक हिसावले विश्लेषण गर्दा पोखरेलले नेतृत्व गरेको गठबन्धनको पक्षको मत बढि छ । तर, पहिलोपटक साधरण सदस्यले मतदान गर्न पाउने गरि भएको यो निर्वाचन, चुनावमा विगतमा हुदै आएका समिकरणभित्रका घात प्रतिघातका नजिर र उम्मेदवारको योग्यता, क्षमता र सम्वन्धका आधारमा चुनावको नतिजा अनपेक्षित आउन सक्ने आँकलन धेरैको छ ।

चुनावी प्रतिष्पर्धामा उत्रिएका उम्मेदवार को बलियो को कमजोर ?

गजेन्द्रसिंह बुढाथोकी
अध्यक्षको लागि मतपत्रको पहिलो नम्बरमा रहेका बुढाथोकी विशेषतआर्थिक पत्रकारितामा क्रियाशिल छन । महासंघमा दलीय सिण्डिकेट अन्त्य गर्ने भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले पत्रकार महासंघको नेतृत्व व्यावसायिक पत्रकारले नै गर्नुपर्ने बताउँछन् ।
पछिल्लो समय टक्सार मिडिया ग्रुपमा कार्यरत बुढाथोकी विगत २८ वर्षदेखी पत्रकारितामा क्रियाशिल रहेका छन । आधा दर्जन मिडियामा रिपोर्टर पत्रकार हुदै प्रधानसम्पादकका रुपमा काम गरेका गजेन्द्र बुढाथोकी पत्रकारिताकै दौरानमा सवारी दुर्घटनामा परेपछि हिव्ल चेयरको सहारामा यात्रा गर्ने भएकाले मतदाताका दैला दैला पुग्न नसकेपनि खरो तर स्पष्ट वक्ताका रुपमा पत्रकारमाझ बनाएको लोकप्रिय छवीका कारण मतदाताको रोजाईमा पर्न सक्छन । महासंघमा दलीय सिण्डिकेटलाई चुनौती दिन स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिएका बुढाथोकीले विद्यमान परिस्थितीमा दलीय सिण्डिकेटलाई तोडेर अध्यक्षमा विजयी हुने मत ल्याउने सम्भावना छैन । तर, यस पटक व्यवसायीक पत्रकारिताका पक्षधर धेरै मतदाताले बुढाथोकीको पक्षमा मत हाल्ने सम्भावना छ ।

निर्मला शर्मा
मतपत्रको दोस्रो नम्बरमा अध्यक्षकी उम्मेदवार चर्चित महिला पत्रकार शर्माको नाम हुनेछ । सञ्चारिका समूहकी पूर्व अध्यक्षका रुपमा समेत काम गरिसकेकी उनि प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेकी छन् । मोफसलबाट पत्रकारिता थालेकी शर्मा २०५२ सालमा सगरमाथा राष्ट्रिय दैनिकमा काम गर्ने गरि पोखराबाट काठमाडौँ पसेकी उनि यो अवधिमा विभिन्न आधा दर्जन मिडियासँग आवद्ध हुदै सक्रिय पत्रकारिता गरेकी छन । । नेपाली पत्रकारितामा महिलाहरूको प्रतिनिधित्व बढाउने सवालमा उल्लेख्य काम गर्ने पत्रकारका रुपमा चर्चित शर्माले सगरमाथा दैनिकपछि रेडियो सगरमाथा ,कम्युनिकेशन कर्नर, कान्तिपुर टेलिभिजन हुदै हाल नेपाल टेलिभिजनमा काम गरेकी छन । लामो समय राजनीति र संसद्को रिपोर्टिङ गरेकी शर्मा पछिल्लो समय नेपाल टेलिभिजन र केहिसमयअघि सम्म कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम समकोणकी सञ्चालिका हुन । नेपाल पत्रकार महासंघमा खुलाबाट पहिलो पटक केन्द्रीय सदस्यमा चुनाव लडेर जितेकी उनले यसअघि महासंघमा महासचिव र कोषाध्यक्षमा प्रतिष्पर्धा गरेपनि झिनो मत पराजित बनेकी थिईन । यस पटक नेपाल पत्रकार महासंघको नेतृत्वमा महिला पु¥याउने गरि नयाँ इतिहास रच्न आफुले उम्मेदवारी दिएको शर्माले बताउने गरेकी छन । उनले नेतृत्व गरेको गठबन्धनको देशभरको मतदाता सङ्ख्या जित्नका लागि प्रयाप्त नभएपनि महिला नेतृत्वका हिसाबले प्राप्त हुने सहानुभूति र पत्रकारितामा उनले बनाएको सम्वन्धका आधारमा चुनाव जित्ने सम्भावना बलियो रहेको धेरैको आँकलन छ । शर्माको पक्षमा कोर साङ्गठनिक मतसँगै सक्रिय महिला पत्रकार, प्रेस युनियनका असन्तुष्ट मतदाता र बामपन्थी आस्थाका आधारमा प्रेस सेन्टरको धेरै मत तान्ने उनिहरुको बुझाई छ ।

विपुल पोखरेल
नेपाली पत्रकारितामा मोफसलबाट पत्रकारितामा सक्रिय विपुल वर्तमान कार्यकालमा खुला उपाध्यक्ष छन् । तारानाथ दाहाल पत्रकार महासंघको अध्यक्ष हुँदा क्षेत्रीय उपाध्यक्ष बनेर महासंघको नेतृत्व तहमा पुगेका उनी प्रेस काउन्सिलका पूर्व सदस्य समेत हुन् । दाङमा रेडियो स्वर्गद्वारी र गोरक्ष दैनिकको सम्पादक रहेका पोखरेल लामो समयदेखि मोफसलको पत्रकारितामा सक्रिय छन् । पछिल्लो समय पत्रकारिता बाहेक विभिन्न व्यापार व्यवसायमा समेत हात हालेका पोखरेल काँग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीसहितको गठबन्धनका उम्मेदवार हुन । यस पटक उनको गठबन्धन मत सङ्ख्याका आधारमा देशभर बलियो छ । तर, यसपटकको निर्वाचन प्रणाली, प्रेस युनियनभित्रको चरम विवाद र जिल्ला तथा प्रदेशमा बदलिएको समीकरणका कारण पोखरेललाई मतदाताको टाउको गनेर मात्रै चुनाव जित्न सजिलो नहुने बुझाई धेरैको छ । उता पोखरेलका विरुद्ध प्रेस युनियनकै नेता तथा  खासगरि श्रमजिवीको पक्षमा वकालत गदै आएका राम प्रसाद दाहालले अध्यक्षमा बागि उम्मेदवारी हालेका थिए । दाहालले आफु मैदानमा नरहेको घोषणा गरेपनि मतपत्रमा उनको नाम कायमै रहेकाले श्रमजिवीको पक्षधरका रुपमा चर्चित दाहालको नाम मैदान छाडेको घोषणा गरेपनि पोखरेलका लागि चुनौतीको विषय बन्न सक्ने अनुमान समेत केहिको छ । फेरि पनि पत्रकारहरुले पार्टी र संगठनको अनुशासनलाई पालना गरि आफ्नो संगठनकै पक्षमा मतदान गरे अध्यक्षका लागि उनले नेतृत्व गरेको गठबन्धनका पक्षधर देशभरका मतदाताका आधारमा भने पोखरेलनै बलियो उम्मेदवार हुन सक्छन ।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट
महासंघको वर्तमान कार्यसमितिका महासचिव रहेका विष्ट आगामी कार्यकालका लागि प्रेस युनियनको तर्फबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन् । राष्ट्रपुकार अनलाईनका सञ्चालक विष्टको सक्रिय पत्रकारितामा नेताबाहेक लेख्ने वा पढ्ने हिसावले चर्चायोग्य भूमिका भने छैन । यद्यपी उनले काटुनिष्टको रुपमा गोरखापत्रमा केहि समय काम गरेका थिए । महासंघमा यसअघि नै एक कार्यकाल एसोसिएटतर्फको सदस्य, एक कार्यकाल कोषाध्यक्ष भइसकेका उनले वर्तमान कार्यसमितिमा महासचिवको रुपमा पनि धेरैको मन जितेका छन । केहि नयाँ घटना घटे तुरुन्तै बिज्ञप्ती जारी गर्ने बोलाएका सबै कार्यक्रममा उपस्थित जनाउने उनको शैलि केहिलाई सतही र हल्का लागेपनि धेरैले रुचाएको विषय हो । विष्टको विरुद्ध प्रेस युनियनकै रामजी दाहालले उम्मेदवारी थिएका थिए । दाहालमाथी संगठनले कारबाहीको दण्डा वर्षाउने भएपछि अन्तिम समयमा मैदान छाडेका दाहालको नाम अहिलेपनि बागी उम्मेदवारका रुपमा मतपत्रमा कायमै छ । काँग्रेसका विभिन्न गुटउपगुटमध्ये विष्टले कुनै एक गुटको फेरो समातेका कारण असन्तुष्ट पक्षमाझ मतपत्रमा कायमै रहेको दाहालको नाम मात्रै पनि विष्टका लागि कुनै न कुनै रुपमा चुनौतीको विषय बन्न सक्ने केहिको अनुमान छ । अध्यक्ष पोखरेलको जस्तै प्रेस युनियनसहितको गठबन्धनमा देशभरका मतदाताको टाउको गन्दा अर्को गठबन्धनको भन्दा अंकगणितीय हिसावले बलियो रहेकाले विष्टले बाजी मार्ने सम्भावना थोरैले मात्रै नकार्ने गरेका छन ।

माधव नेपाल
प्रेस चौतारीको तर्फबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका नेपाल करिब दुई दशकदेखि निरन्तर रूपमा पत्रकारितामा सक्रिय छन् । समकालीन पत्रकारहरूमाझ असाध्यै सरल मिजासिला र सहयोगी नेपालले मोफसल हुँदै केन्द्रमा विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका छन् । प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष रहेका उनले न्युज २४ मा पनि सक्रिय रूपमा पत्रकारिता गरे । हाल उनी जनप्रशासन अनलाइन मिडियामा कार्यरत छन् । असाध्यै थोरै बोल्ने र सरल जीवन शैलीका नेपालका लागि संगठनका कोर मतदाता सङ्ख्या अंकगणितीय हिसावले कमजोर रहेकाले यस पटक चुनाव जित्न सजिलो छैन तर समकालीन पत्रकारितामा क्रियाशील पत्रकारमाझ लोकप्रिय छवि बनाएका र सबैलाई सम्मान गर्ने सहयोगी चरित्रका कारण माधव नेपाल वरिष्ठ उपाध्यक्षका बलिया उम्मेदवारकै रूपमा चित्रण हुने गरेको छ ।

महिला उपाध्यक्षमा कम चर्चित प्रतिष्पर्धीका कारण अधिकारी बलियो

 बाला अधिकारी
महिला उपाध्यक्षमा प्रेस युनियन, प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीको तर्फबाट उम्मेदवारी दिएकी बाला अधिकारी पत्रकारितामा खासै परिचित नाम होइन । तर, नेपाली काँग्रेसका नेताहरूसँगको सङ्गतसँगै प्रेस युनियनकी नेताका रूपमा सक्रिय राजनीतिमा लागेकी अधिकारीले लोकसत्ता भन्ने साप्ताहिक पत्रिका भने चलाएकी छन् । पत्रकारितामा भन्दा विभिन्न व्यापार व्यवसायमा लागेकी उनि नेपाली काँग्रेस निकट प्रेस युनियनको वरिष्ठ उपाध्यक्ष हुन । सामाजिक सञ्जाल र चोक चौतारामा संसदीय चुनावको झल्को दिनेगरि टिम नै बनाएर प्रचार प्रसारमा लागेकी अधिकारी यसपटकको निर्वाचनमा चर्चा र प्रचार प्रसार अनि कमजोर प्रतिष्पर्धीका कारण पनि बलियो बन्दै गएको अनुमान गर्न सकिन्छ ।

दाना केसी सुवेदी
रोल्पाकी दाना केसी सुवेदी पत्रकारितामा कम चर्चा र परिभाषित नाम भएपनि विप्लवनिकट जनपत्रकार मञ्चको तर्फबाट उम्मेदवार बनेकी उनि लोकतन्त्र र जनमुखी पत्रकारिताको वकालत गर्ने एक जुझारु महिला नेतृका रूपमा चिनिन्छन् । प्रेस चौतारी नेतृत्वको गठबन्धन प्यानलबाट महिलातर्फको उपाध्यक्षमा उम्मेदवारी दिएकी सुवेदी महसंघको नेतृत्वमा पुग्नै पर्ने महिला पत्रकार भएपनि यस पटक सजिलो छैन । एकतर्फ उनको पुरै प्यानल संगठनका कोर मतदाताको सङ्ख्या गन्नेमा भन्दा आफ्नो व्यक्तिगत सम्बन्ध र पपुलारिटीको आधारमा मत तानेर जित्ने अभ्यासमा लाग्दै गर्दा यो माहोलमा आफै कम परिचित अनुहारका रुपमा देखिनु । र अर्को तर्फ उनकै संगठनसँग आवद्ध तर असन्तुष्ट दीप बहादुर घर्ती लगायतको ठुलो समूह उनको विरुद्ध लागेकाले चुनाव जित्न कठिन हुने आँकलन धेरैको छ ।

समावेशी उपाध्यक्ष लोकप्रिय जिएम चुनावी नतिजा झाको पक्षमा जाने सम्भावना 

समावेशी उपाध्यक्षमा ३ जनाको उम्मेदवार चुनावी मैदानमा छन । तीनजनामध्ये युनियन नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका उदय जिएम र चौतारी नेतृत्वको प्यानलबाट अवधेश झा बलिया उम्मेदवारको रूपमा देखिएका छन् । जिएम प्रगतिशील पत्रकार संघका सदस्य हुन भने झा केही समयअघि मात्रै प्रेस युनियनबाट जसपा निकट पत्रकार सङ्गठनमा आबद्ध भएका पत्रकार हुन । युनियन नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका जिएमले ०५४ सालबाट पत्रकारिता थालेका हुन् । उनी १४ वर्ष अन्नपूर्ण पोष्टमा दाङ संवाददाता थिए । उनी महासङ्घको वर्तमान कार्यसमितिमा सचिव छन् । यस्तै चौतारीको प्यानलबाट उम्मेदवार बनेका झा लामो समयदेखि कान्तिपुर दैनिकमा आबद्ध छन् । उनी हाल महासङ्घको केन्द्रीय सदस्य छन् । अर्को उम्मेदवार मोहन कुमार सिंह भने स्वतन्त्र रुपमा समावेशीतर्फको उम्मेदवार बनेका भएपनि उनले खासै प्रचार प्रसार र तयारी गरेका छैनन ।प्रगतिशिल पत्रकार मञ्चमा आवद्ध जिएम गठबन्धनका हिसावले बलिया देखिएपनि युनियनबाट भर्खरै जसपा निकट पत्रकार संघमा लागेर चौतारी नेतृत्वको गठबन्धनबाट टिकट लिएका झाको पक्षमा नतिजा आउन सक्ने धेरैको अनुमान छ । मधेशी पत्रकारमाझ चर्चित र लोकप्रिय झाले मधेशका मतसँगै प्रेस चौतारी र यससँग आवद्ध गठबन्धनका प्यानल मतमाथी प्रेस युनियनका धेरै मत तान्ने भएकाले उदय जिएमको गठबन्धनमा देशभरको मतदाताको सङख्या बढि भएपनि समावेशी उपाध्यक्षमा झाको सम्भावना बलियो देखिएको हो ।

महासचिवमा धेरैको चासो :
नेपाल पत्रकार महासंघको कार्यकारी पदका रूपमा रहेको महासचिव पदमा धेरेको चासो छ । यस पटक महासंघको महासचिवका लागि दुवै जना चर्चित लोकप्रिय पत्रकार मैदानमा भएकाले यसलाई अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको भन्दा बढी महत्त्वको साथ हेरिएको छ ।

रोशन पुरी
प्रेस सेन्टर निकट पुरी युनियन नेतृत्वको प्यानलबाट महासचिवको उम्मेदवार बनेका छन् । यसअघि नै केन्द्रीय सदस्यका रूपमा एक कार्यकाल पुरा गरेका उनी हाल महासंघको लेखा समिति संयोजक छन् । पुरी महासंघमार्फत श्रमजीवी पत्रकारलाई पर्ने विभिन्न गाह्रो अप्ठ्यारोमा देखाउने सक्रियता र मिलनसार स्वभावले पत्रकारमाझ लोकप्रिय छन् । तुलनात्मक रूपमा कम उमेर भएपनि पुरी नेपाली पत्रकारितामा १९ वर्षदेखि क्रियाशील छन् । २०५८ सालमा रेडियो लुम्बिनीबाट पत्रकारिता थालेका पुरी लामो समय उज्यालो नेटवर्कमा आबद्ध थिए । त्यसबाहेक थाहा सञ्चार नेटवर्कमा रहेर पत्रकारितामा सक्रिय महासचिवका उम्मेदवार पुरी पछिल्लो समय नागरिक खबर डटकमको सम्पादक थिए । पुरीलाई महासचिवको रूपमा विजय गराउने विषय यस पटक प्रेस सेन्टरको प्रतिष्ठाको विषय बन्ने भएकाले माओवादी केन्द्र निकट प्रेस सेन्टरले आफ्नो तयारीको केन्द्रमा महासचिवका उम्मेदवार परीलाई राखेको छ । तर, संयुक्त उम्मेदवारीका लागि समीकरणमा रहेको प्रेस युनियनकै सदस्यले बागी उम्मेदवारी दिनु र यसअघि पनि विभिन्न समय समीकरणमा देखिएका घात प्रतिघातका घटनाले पुरीलाई चुनाव जित्न सजिलो नहुने आँकलन छ । यद्यपि समीकरणको पक्षमा रहेका मतको जोडघटाउका आधारमा भने पुरी बलिया मानिन्छन् ।

बालकृष्ण बस्नेत
झन्डै दुई दशक बढी पत्रकारितामा सक्रिय बस्नेत प्रेस चौतारीसहितको गठबन्धन प्यानलबाट महासचिवमा उम्मेदवारी दिएका हुन् । लामो समय कान्तिपुर पब्लिकेशनमार्फत सक्रिय पत्रकारिता गरेका उनी अहिले खुल्ला नेपाल डटकमको सम्पादक छन् ।

२०५१ बाट निरन्तर रूपमा सक्रिय पत्रकारिता गर्दै आएका उनले सुरुवातमा छलफल साप्ताहिक, जनजागरण साप्ताहिकमा पनि काम गरिसकेका छन् । तत्कालीन अध्यक्ष शिव गाउँलेको पालामा बस्नेत केन्द्रीय सदस्य निर्वाचित भएर श्रमजीवी पत्रकारको पक्षमा लोकप्रिय काम गरेका थिए । तर त्यसपछिको चुनावमा उनले जित्ने प्रशस्त सम्भावना हुदाँहुदै प्यानलमा नपरेपछि सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसअघि भएको महासंघको निर्वाचनमा उनले तीर्थ कोइरालाको प्यानलबाट महासचिवमा चुनाव लडे पनि असाध्यै झिनो मतले पराजित भएका थिए । लामो समय प्रतिष्ठानतर्फबाट पत्रकारितामा सक्रिय रहेका बस्नेतलाई सङ्गठनका कोर मतसँगै युनियनतर्फको क्रस भोट र प्रतिष्ठानतर्फको सहानुभूति मिल्ने धेरैको बुझाई छ । यद्यपि रोशन पुरीकै बागी मानिएका प्रेस युनियन निकट सुबोध गौतम समेत प्रतिष्ठानमा बढी पपुलर भएकाले बस्नेतका केही भोट गौतमको पक्षमा नजालान् भन्न सकिने अवस्था छैन । फेरि पनि समीकरणमा हुने घात प्रतिघात र रोशन पुरीको बागीका रूपमा गौतमको उम्मेदवारीले महासचिवका रूपमा बस्नेत बलिया उम्मेदवार मात्रै होइनन् । प्रेस चौतारी प्यानलले जीतको नजिक रहेको थोरै उम्मेदवारको रूपमा महासचिवमा बस्नेतलाई राखेकाले बस्नेतको पल्लाभारी हुने सम्भावना उत्तिकै छ ।

स्वतन्त्र उम्मेदवार सुबोध गौतम : महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका गौतम नागरिक दैनिकमा कार्यरत छन् । वातावरण पत्रकार समूहमा समेत उनी सक्रिय छन् । उनले महेन्द्र विष्टको कार्यकालमा प्रतिष्ठानतर्फ केन्द्रीय सदस्यमा चुनाव हारेका हुन् । यस पटक गौतमले चुनाव जित्ने सम्भावना नभए पनि उनी युनियन निकट भएकाले युनियनका धेरै भोट काट्ने र केही प्रतिष्ठानतर्फका मत लिने आँकलन छ । प्रतिष्ठानतर्फबाट गौतमले प्राप्त गर्ने मतले महासचिवका लागि चौतारी प्यानलबाट उम्मेदवार बनेका बस्नेतका केही मत काट्ने देखिए पनि युनियन गठबन्धनबाट महासचिव बनेका पुरीलाई गौतमको उम्मेदवारी भारी पर्ने देखिएको छ ।

खुला सचिव
खुला सचिव पदमा ६ जनाको उम्मेदवारी परेको छ । नकुल अर्याल, कमल पन्त, गोविन्दप्रसाद चौलागाईं, जन्मदेव जैसी, यम विरही र रामकृष्ण ज्ञवाली खुला सचिव पदका प्रत्याशी हुन् ।

चितवनको काया कैरन दैनिकबाट पत्रकारिता सुरु गरेका अर्यालले एभिन्युज, न्युज ट्वाटीफोर, हिमालय टिभी, एपिवान टिभी, योहो टिभीमा काम गरिसकेका छन् । हाल नेपाल प्रेसमा आबद्ध अर्याल काठमाडौँ प्रेस युनियनको निवर्तमान अध्यक्ष हुन् । महासङ्घको केन्द्रीय सदस्य रहेका उनी प्रेस स्वतन्त्रता र श्रमजीवीको मुद्दामा खरो उत्रने व्यक्ति हुन् । अर्यालले गठबन्धनबाट युनियनका मत तानेर विजयी हुने अपेक्षा राखे पनि चुनाव जित्न भने सजिलो छैन ।

सचिवका अर्का प्रत्याशी यम विरही राजधानी दैनिकको स्थापनाकालदेखि नै काम गरेका पत्रकार हुन् उनी अन्नपूर्ण पोष्टमा लामोसमय कोर रिपोर्टिङ गरेका पत्रकार हुन् । उनी हाल प्रतिष्ठान तर्फको केन्द्रीय सदस्य हुन् ।

सचिवका अर्का प्रत्याशी ज्ञवाली महासङ्घका केन्द्रीय सदस्य हुन् । २०५५ सालदेखि पत्रकारितामा सक्रिय छन् उनी । पोखराबाट प्रकाशित हुने समाधान दैनिकका सम्पादक रहेका ज्ञवाली मोफसलमा विभिन्न क्षेत्रमा पत्रकारितामा सक्रिय रहेका छन् । सचिवका उम्मेदवारमध्ये सबैभन्दा भलादमी र सक्रिय एव चुनावका लागि आवस्याक रणनीति बनाउन सक्ने खुबी भएका भएका उम्मेदवार ज्ञवाली भएपनि चुनाव जित्न भने मोफसलबाट पत्रकारिता गर्ने भएकाले सजिलो हुने छैन । यद्यपि ज्ञवाली यस पटक खुल्ला सचिवका लागि बलिया उम्मेदवार हुन ।

यस्तै सचिवका अर्का प्रत्याशी जैसी महासङ्घका केन्द्रीय सदस्य हुन् । उनी श्रमजीवीको मुद्दामा निरन्तर लड्दै आएका पत्रकार छन् । जैसि श्रमजीवीका पक्षमा काम गर्न महासङ्घको नेतृत्वमा पुग्नै पर्ने पत्रकार भएकाले धेरै पपुलर मत प्राप्त गरे पनि प्यानल बाहिर परेकाले चुनाव जित्न सजिलो छैन ।

खुला सचिवका अर्का प्रत्याशी चौलागाईंले रौतहटबाट पत्रकारिता थालेका हुन् । उनी पत्रकार महासङ्घ काठमाडौँ शाखाको दुई पटक अध्यक्ष भइसकेका छन् । उनी प्रेस काउन्सिलका पूर्व सदस्य भइसकेका छन् । उनी हाल महासङ्घको केन्द्रीय सदस्य छन् । चौलागाई पत्रकारका हरेक समस्या दरिलो साथ दिँदै आएका र गठबन्धन प्यानलको मतभारसङ्ख्या पनि बढी देखिएकाले यस पटक सचिवको रूपमा बलिया उम्मेदवारका रूपमा देखिएका छन् ।

महिला सचिव
महिला सचिवमा दुई जनाको उम्मेदवारी परेको छ । सिर्जना अर्याल र निमा काफ्ले महिला सचिव पदको दौडमा छन् । अर्याल हाल पत्रकार महासङ्घ र प्रेस युनियनको केन्द्रीय हुन् । उनी चितवनको स्थानीय रेडियोमा काम गर्छिन् ।

काफ्लेले भने सुदूरपश्चिमको कञ्चनपुरबाट पत्रकारिता सुरुवात गरेकी हुन् । उनी हाल नेपाल टेलिभिजनमा कार्यरत छन् । उनले महेन्द्रनगरबाट प्रकाशित हुने अभियान दैनिक, कञ्चनपुरबाट नै उनले एभिन्युज टेलिभिजनमा काम गरेकी थिइन् । राजधानीमा उनले एभिन्युज र न्युज २४ टेलिभिजनमा काम गरिसकेकी छन् । महिला सचिवका लागि मैदानमा उत्रिएका दुवै जना बलिया उम्मेदवार हुन् । गठबन्धन मतसङख्याका आधारमा अर्याल बलियो देखिन्छन् भने पत्रकारमाझ लोकप्रियताका हिसाबले काफ्ले बलिया उम्मेदवार देखिएकी छन् । प्रेस चौतारी प्यानलबाट उम्मेदवारी दिए पनि काफ्लेले युनियन लगायतका अन्य सङ्गठनको मत तान्न सक्ने खुबी भएकाले यस पटक महिला सचिवमा काफ्लेको पल्लाभरी हुने आँकलन छ ।

सचिव (आदिवासी जनजाति)
यो पदमा तीन जनाको उम्मेदवारी परेको छ । नारायण किलम्बु, रामकुमार श्रेष्ठ र शाहीमान राई उम्मेदवार बनेका छन् । किलम्बु कान्तिपुर टिभीमा कार्यरत छन् । उनी भक्तपुरबाट शिक्षा सम्बन्धी रिपोर्टिङ गर्छन् ।

प्रेस मञ्चमा आबद्ध रहेका राई लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत छन् । अहिले उनी जनकपुरबाट कान्तिपुर दैनिकमा कार्यरत रहेका छन् । दुवै उम्मेदवार तुलनात्मक रूपमा उत्तिकै बलिया उम्मेदवारका रूपमा रहेकाले नतिजा यस्तै आउनेछ भन्ने अवस्था छैन ।

सचिव (मधेसी)
यो पदमा चार जनाको उम्मेदवारी परेको छ। दीपेन्द्र चौहान, देवकुमार यादव, प्रवीणकुमार चौधरी र श्वेता सिन्हा सचिव (मधेसी) पदको प्रत्याशी छन् । चौहान लामो समय वीरगन्जबाट विमर्श साप्ताहिकमा काम गरेका थिए । पञ्चायत कालदेखि नै पत्रकारितामा सक्रिय चौहान अहिले देशान्तर साप्ताहिक र अकुंश दैनिकमा काम कार्यरत छन् । महासङ्घको २ नम्बर प्रदेश अध्यक्ष समेत रहेका चौहान मधेसी सचिवको रूपमा बलिया उम्मेदवार हुन । यद्यपि सचिव मधेसी तर्फबाटै उम्मेदवारी दिएकी सिन्हाको आम पत्रकारितामा देखिएको लोकप्रियता र सक्रियताले सिन्हाले बाजी मार्ने धेरैको आँकलन छ । महासङ्घको केन्द्रीय सदस्य समेत रहेकी उनी अहिले नेपाल टेलिभिजनमा कार्यरत छिन् ।

सचिव (दलित)
यो पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गणेशकुमार विक, गोपाल बराइली, मधु शाही, मान सिंह विक र हेमकर्ण विक मैदानमा छन् । चार जनामध्ये हेमकर्ण बिक र मधु शाही बलिया उम्मेदवारका रूपमा देखिएका छन् ।

सचिव (एसोसिएट)
एशोसियट तर्फको सचिवका लागि ६ जनाको उम्मेदवारी परे पनि एक जनाले उम्मेदवारी फिर्ता गरिसकेकाले अहिले चुनावी मैदानमा ५ जना मात्रै छन् । केशवराज खनाल, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहाल र रामेश्वर कार्की एसोसिएट सचिवमा उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये बलिया उम्मेदवार पवन आचार्य र रामेश्वर कार्की मानिएका छन् । तर, प्रेस युनियन निकट मानिने राधेश्याम दाहाल पनि एसोसिएटतर्फका मतदाताबिच भिजेका उम्मेदवार भएकाले अहिले नै कसले बाजि मार्छ भन्न सकिने अवस्था भने छैन ।

कोषाध्यक्ष
कोषाध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दिए पनि अहिले ३ जना मात्रै चुनावी मैदानमा छन् । अहिलेसम्मको अवस्थालाई हेर्दा केन्द्र सेजुवाल र कृष्ण गिरी कोषाध्यक्षको बलिया उम्मेदवारका रूपमा देखिएका छन् । सेजुवाल सुर्खेतमा बसेर कान्तिपुर दैनिकमा काम गर्छन् । उनी कान्तिपुरको कर्णाली प्रदेशको ब्युरो चिफ हुन् । योभन्दा अघि नागरिक दैनिकमा काम गरेका सेजुवाल हाल कर्णालीबाट केन्द्रीय सदस्य समेत हुन् ।

कोषाध्यक्ष पदका उम्मेदवार गिरी २०५५ सालदेखि पत्रकारितामा सक्रिय छन् । उनले मोफसलबाट पत्रकारिताको सुरुवात गरेका हुन् । उनी वर्तमान पत्रकार महासङ्घका केन्द्रीय सदस्यका रूपमा श्रमजीवी पत्रकारको पक्षमा सक्रियता पूर्वक काम गरेकाले कोषाध्यक्ष पदमा बलिया उम्मेदवारका रूपमा देखिएका छन् । महासङ्घको सबैभन्दा बढी सदस्य रहेका काठमाडौँ, कास्की, रुपन्देही र चितवनमा राम्रो प्रभाव भएका गिरीको भन्दा सांगठिन रूपमा सेजुवालका मतभार बढी हुने आँकलन भएपनि गिरीले क्रस भोट गराउने क्षमता राख्ने भएकाले कोषाध्यक्ष पद गिरीको पल्लाभरी हुने धेरेको अनुमान छ ।

लेखा समिति संयोजक
लेखा समितिको संयोजकमा महासङ्घको वर्तमान कार्यसमितिका तीन जना सदस्यले उम्मेदवारी दिएका छन् । द्वारिका प्रसाद काफ्ले, लक्ष्मण कार्की र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका हुन् । तीनै जना लामो समय पत्रकारितामा सक्रिय छन् ।

केन्द्रीय सदस्यतर्फ शर्मिला सुवेदी बलियो उम्मेदवार
नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्यमा ३८ पदका लागि मात्रै १ सय १७ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये प्रदेशतर्फ ४५, प्रतिष्ठानतर्फ ७ ,एशोसियटतर्फ ५, खुल्लामा २५, महिला मधेसीतर्फ २, महिला आदिवासी जनजातितर्फ २, महिला खस आर्यतर्फ ६, दलिततर्फ २, आदिवासी जनजाति तर्फबाट ६, दलिततर्फ ४, मधेसीतर्फबाट ६, अपाङ्गता भएकाहरूको तर्फबाट ४ र अल्पसङ्ख्यकको तर्फबाट तिन जनाको उम्मेदवारी परेको छ । जसमध्ये केन्द्रीय सदस्यका लागि महिला खस आर्यतर्फबाट उम्मेदवारी दिएकी शर्मिला सुवेदी महासङ्घको आसन्न निर्वाचनका लागि बलियो उम्मेदवारका रूपमा देखिएकी छन् । पत्रकारितामा स्नातक पुरा गरेकी सुवेदीले केन्द्रीय सदस्यका लागि विभिन्न ४ महत्त्वपूर्ण एजेन्डासहित उम्मेदवारी दिएको जनाएकी छन् । आफूले महासङ्घको केन्द्रीय समितिमा श्रमजीवीको पक्षबाट प्रतिनिधित्व गर्ने मौका पाए महासङ्घलाई वास्तवमै श्रमजीवी पत्रकारको साझा संस्थाको रूपमा विकास गर्ने, पत्रकारको हकहित र वृत्ति विकासका लागी महासङ्घमार्फत बृहत् पहल थाल्ने । साना तथा स्वरोजगार मिडियाको पर्वद्धन गर्ने र पत्रकारिताको साख अझै उचो पादै नयाँ पिढिलाई यसप्रति आकर्षित गर्ने जस्ता महत्त्वपूर्ण एजेन्डा अघि सारेकी छन् । उच्च शिक्षाका लागि अस्ट्रेलियाको छात्रवृत्ति समेत छाडेर नेपाली पत्रकारितामा सक्रिय सुवेदीलाई केन्द्रीय सदस्यका रूपमा जिताउन महासङ्घका दुई पूर्व अध्यक्ष र एक महासचिवले समेत अप्रत्यक्ष रूपमा लबिङ गरिरहेको बुझिएको छ । आम पत्रकारबिच लोकप्रिय श्रमजीवी पत्रकारको पक्षमा विभिन्न सघर्षका मैदानमा अग्रपङ्क्ति देखिने सुवेदीको पक्षमा यस पटकको केन्द्रीय सदस्य महिला खस आर्य तर्फको पल्ला भारी हुने देखिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार