सरकारले गजेन्द्रबहादुर हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको नातासम्बन्धलाई लिएर गरिएको चर्चा निराधार भएको स्पष्ट पारेको छ ।
शुक्रबार साँझ मन्त्रिमण्डल बिस्तारपछि बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले हमाल काँग्रेसका सक्रिय नेता भएको भन्दै उनको नियुक्तिमा प्रधानन्यायाधीशलाई जोड्नु खेदजनक रहेको भन्दै निराधार समाचारमा विश्वास नगर्न आग्रह गरे । लोकतान्त्रिक आन्दोलनमा हमालले प्रभावकारी भूमिका खेलेको उनको भनाई छ । बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ स्वीकृत गरेको छ भने मन्त्रिपरिषद्का समितिहरूलाई पुनर्गठन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष रूपमा जनताका लागि काम गर्न निर्देशन दिएको प्रवक्ता कार्कीले जानकारी दिए । यसअघि शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शुक्रबार नवनियुक्त १८ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरूलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।