नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार साँझ नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन् । मन्त्रीहरुले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार १६ मन्त्री र २ राज्यमन्त्रीलाई नियुक्त गरेका थिए ।

नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् ।

त्यसैगरी डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् ।

त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएका छन् ।

उमेश श्रेष्ठ राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री , बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार