कांग्रेसले नाम दिन नसकेपछि रोकियो लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

गठबन्धनको मुख्य दल कांग्रेसले मन्त्रीको नाम दिन नसकेपछि लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार रोकिएको छ ।

बिहीबार माओवादी केन्द्रको संसदीय दलको बैठकले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर दिउँसो तीन बजे शपथ गराउने गरी तयारी गरेको थियो ।

सरकारमा जानका लागि माओवादीले मन्त्री टुंग्याएको छ । स्रोतका अनुसार कांग्रेसका केही मन्त्रीको समेत नाम फाइनल भएको छ तर एक मन्त्री र एक राज्यमन्त्रीमा कुरा मिलेको छैन ।

कांग्रेसले यसअघि नै पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रीमा दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ । यस्तै वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । तर, पाल्पाका वीरबहादुर राना र रूपन्देहीकै अष्टभुजा पाठकमध्येबाट एक जनाको नाम छनोट हुन नसकेपछि त्यसको टुंगो लगाउन कांग्रेसले केन्द्रमा अनुरोध गरेको छ । काँग्रेस भागमा परेको राज्यमन्त्रीको नाम पनि टुंगो लागेको छैन ।

कांग्रेसकी प्रदेशसभा सचेतक निर्मला क्षेत्रीका अनुसार शुक्रबार विस्तारका तयारी भए पनि केन्द्रबाट शुक्रबार दिउँसोसम्म पनि नाम टुंगो नलागेपछि मन्त्रिमण्डल विस्तार र शपथ आइतबारसम्मका लागि रोकिएको हो ।

माओवादीले भने आफ्नो कोटामा परेका दुई मन्त्रालयका लागि दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्माको टुंगो लगाएको छ । माओवादी कोटामा परेको एक मन्त्रालय भने नेकपा (एकीकृत समाजवादी)लाई परेको छ । नेकपा (एस)बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछिन् । त्यस्तै माओवादीले दाङकी विमला खत्री वलीलाई राज्य मन्त्री बनाउने तयारी गरेको छ । तर, माओवादीभित्रैबाट उनको नाममा विरोध भएपछि परिवर्तन गर्ने चर्चा पनि चलेको छ । माओवादीका एक नेताका अनुसार विमलाको नाम हटेमा कपिलवस्तुकी सुष्मा यादव मन्त्री बन्ने सम्भावना छ ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि नै मुख्यमन्त्रीसहित माओवादीका दुई, कांग्रेसका एक, जसपाका तीन र स्वतन्त्र एक गरी ७ सदस्यीय मन्त्रालय गठन भएको थियो । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाध्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ । त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार