हराउन थाले रातो माटो र कमेराले लिपपोतका चलन

बडादसैँ घर आँगनमा भित्रिइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत र सरसफाइ हो ।

रातो माटो र कमेराले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दसैँको उत्सव सुरु हुने गर्दछ । विगत केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराका मड्किना (माटो निकालिने ठाउँ) पुरिँदै गएका छन् ।

गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातो माटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । ग्रामीण भेगका अधिकांश घर पनि सिमेन्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसिमका बनाइएका छन् । बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन शुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका ८५ वर्षीय बाबुराम उपाध्यायले बताए ।

एक समय थियो, दसैँ भित्रँदै गर्दा रातो माटो र कमेरोले घर, आँगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो । बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिन्थ्यो, रोटेपिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर रमाउने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएकाले दसैँको मौलिकता नै नासिएको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

दसैँमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन दुई तीन दिनको बाटो हिँडेर बेनी –२ मा पर्ने रत्नेचौर र सारेमारेमा जिल्लाभरिका महिला तथा पुरुषको भीड लाग्ने गर्दथ्यो । दसैँ सुरु हुनुभन्दा चार÷पाँच दिनअघिदेखि नै रातो माटो र कमेराका मड्किनामा स्कुलका विद्यार्थीदेखि लिएर गृहिणीको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नुपथ्र्यो । अहिले रत्नेचौर र सारेमारेका मड्किनामा माटो लिन आउनेको सङ्ख्या नगण्य रहेको स्थानीय हेमकुमारी सापकोटाले बताइन् ।

यसैगरी दसैँका लागि आवश्यकपर्ने चिउरा, चामल आदि खाद्यान्न ढिकीजाँतोमा कुट्ने, पिध्ने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएका छन् । गाउँघरमा ढिकी, जाँतोका आवाज सुनिन छाडेको छ । यस्ता साधनमा अन्न कुट्ने पिध्ने चलन हराएको छ । ढिकी, जाँतोदेखि नै छाडेका छन् । दसैँ पहिलेकोभन्दा महँगो र पृथक बन्दै गएकोे ज्यामरुककोटका रामकृष्ण घिमिरेले बताए ।

“रातो माटो र कमेरोले लिपपोत गर्ने घरमा अहिले आयातित विभिन्न कलर९रङ० लगाउन थालिएको छ । प्रत्येक घरबाट एक÷एक सदस्य अनिवार्य उपस्थित भएर श्रमदान गरी गरिने बाटोघाटोको सरसफाइ गर्न छोडिएको छ । गोरेटोबाटो पुरिँदै गएका छन्, मोटरबाटो डोजर लगाएर सफा गर्न थालिएको छ । त्यस्तै पिङ लोप हुँदै गएका छन् । दसैँका लागि आवश्यकपर्ने सम्पूर्ण खाद्यान्न बजारमै पाइने हुँदा ढिकी, जाँतोमा कुटानीपिसानी गर्न छोडिएको छ । दसैँको मौलिकता नै हराउँदै गएको छ”, रणबाङका पं हरिकृष्ण पौडेलले भने ।

मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दसैँ पनि महँगो बन्दै गएको स्थानीयको बुझाइरहेको छ । पहिला पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दसैँ मनाइन्थ्यो भने अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दसैँ दशा बन्न थालेको बुद्धिजीवीले बताएका छन् ।

रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दसैँको आभास हुने गरेको थियो । अहिले यी सबै कुरा हराउँदै जाँदा पुरानो मैलिकता नै लोप हुँदै गएको र रमाइलो कम हुँदै गएको छ ।

Loading...