नेकपा (एकीकृत समाजवादी)ले दुई चरणमा मन्त्री बनाउने

नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई चरणमा मन्त्री बनाउने भएको छ । नेकपा एसले ६–६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको हो ।

एकीकृत समाजवादीबाट पहिलो चरणमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री बन्दैछन् ।

रामकुमारी झाँक्रीलाई स्वास्थ्य, विरोध खतिवडालाई सहरी विकास, कृष्णकुमार श्रेष्ठलाई श्रम र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने पार्टीको तयारी छ ।

त्यस्तै दोस्रो चरणमा ६ महिनापछि उनीहरूलाई फिर्ता बोलाएर मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र जीवनराम श्रेष्ठलाई पठाइने बताइएको छ ।

यस्तै नेकपा एसले प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री पनि पाउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो ।

अब प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ ।

हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने निश्चित छ ।

९ भदौमा एमाले विभाजन भएसँगै दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार