बाजुरा कांग्रेसमा रावल विजयी

नेपाली कांग्रेस बाजुरा सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन् । निवर्तमान पार्टी सभापति कविराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुन् ।

गए राति आएको मतपरिणामअनुसार रावलले ६०५ मतसहित विजयी भए भने पण्डितले ५६६ मत मात्रै ल्याएका थिए । पहिलो चरणमा पण्डित, रावल र चक्र शाहबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नपुगेपछि सभापतिको लागि दोस्रो चरणमा मतदान भएको हो ।

निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार कूल १ हजार १८२ मत खसेकोमा १ हजार १७१ मत सदर र ११ मत बदर भएको थियो ।

सभापतिमा विजयी भएका रावल कांग्रेस नेता बद्री पाण्डे निकट हुन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन् ।

यस्तै बाजुरा उपसभापतिमा पदम बडुवाल र नारायण पाध्याय निर्वाचित भएका छन् ।

सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया निर्वाचित भए भने सहसचिवमा सुरेन्द्रबहादुर सिंह र कृष्णराज पाध्याय निर्वाचित भएको नेता योगेन्द्र रावलले जानकारी दिए ।

कांग्रेसले अहिलेसम्म १२ जिल्लामा जिल्ला अधिवेशन सकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार