मदिरा सेवन गरेर झडप, एक श्रमिककाे मृत्यु

उद्योगमा कार्यरत कामदारबीच झडप हुँदा रुपन्देहीमा एक जनाको ज्यान गएको छ । झडपका क्रममा चक्कु प्रहार गर्दा एक कामदारको मृत्यु भएको हो ।

शुद्धोधन गाउँपालिका-३ फर्साटिकरमा रहेको प्लाई उद्योगमा मदिरा सेवन गरी त्यहीँका कामदारबीच झडप हुँदा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-३ का २२ वर्षीय अवधेश हरिजनको मृत्यु भएको हो ।

हरिजनलाई सोही उद्योगमा कार्यरत भारतीय नागरिक रवि सिंहले चक्कु प्रहार गरेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । केसीका अनुसार उनीहरु एउटै फ्याक्ट्रीका कामदार हुन् ।

‘राति मापसे गरी एक आपसमा झडप हुन गई एक जनाको मृत्यु भएको छ । मृतकका बाबु गोपालचन्द हरिजन घाइते छन्,’ उनले भने, ‘हत्यामा संलग्न रवि सिंह पनि घाइते छन् र उनलाई नियन्त्रणमा लिइसकेका छौं ।’

उनका अनुसार रविले अवधेशलाई चक्कु प्रहार गरेपछि उनका बाबु गोपालचन्द्रलाई पनि चक्कु प्रहार गरेका थिए । अवधेशको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनका घाइते बाबु र हत्या आरोपित रवि सिंहको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भैरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार