२५ लाख मूल्य बराबरको पटकासहित एक जना पक्राउ

अबैध रुपमा पटाका, आतिषबाजिजन्य पदार्थको भण्डारण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले बिभिन्न समयमा उपत्यका बाहिरबाट गैरकानूनी रुपमा लुकाई छुपाई गरेर ल्याइएको २५ लाख मूल्य बराबरको पटका, भुइँचम्पालगायत आतसबाजीजन्य पदार्थसहित सर्लाही घर भई हाल काठमाडौं कागेश्वरी मनहरा–८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादवलाई पक्राउ गरि सार्वजनिक गरेको हो । गोप्य सूचनाका आधारमा प्रहरीले गोठाटारस्थित यादवको गोदाममा छापा मार्दा ठूलो परिमाणको विभिन्न प्रकारका पटाकाहरू बरामद गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए । उनले गोदामबाट गमला पटका २५ केजी, फ्लावरकोन पटाका ४२० केजी, चक्र पटाका १२० केजी , हाइड्रोबम पटका ३ कार्टुनलगायत बरामद गरिएको बताए । पक्राउ परेका व्यक्तिले काठमाडौंमा इट्टा ल्याउन ट्रकमा लुकाई छुपाई पटाका ल्याउने गरेको खुलेको पनि जानकारी दिए ।

पक्राउ परेको व्यक्तिलाई विष्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गतको मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार