महाकालीमा भारतले बनाएको सुरक्षा पर्खालबारे दुवै देशका नापी विभागले स्थलगत अध्ययन गर्ने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको नेपाल र भारतका नापी अधिकारीले स्थलगत अध्ययन गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले अप्रिल १२ मा नेपाल र भारतका दुवै देशका नापी टोलीले त्यहाँ स्थलगत अध्ययन गर्ने तय भएको जानकारी गराएका हुन् । ज्ञवालीले दार्चुलास्थित महाकाली नदीको नेपाल भारत सीमामा भारतले बनाउँदै गरेको सुरक्षा पर्खाल निर्माण गर्दा दुई देशको सीमालाई समेत छोएर या त्यसलाई मिचेर पर्खाल बनाएको भन्ने जानकारी संसद र सञ्चारमाध्यमा सार्वजनिक भएपछि सरकारले पुस २२ गते प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधि सहभागी टोली बनाएर एउटा स्थलगत अध्ययन गरेको जानकारी दिए ।

त्यो अध्ययनबाट भारतीय पक्षबाट निर्माण भइरहेको सुरक्षा पर्खालसम्बन्धमा स्पष्टरुपमा नापजाँच गरी वास्तविकता पत्ता लगाउन उपयुक्त हुने सुझाव दिएअनुरुप नेपालले भारतसँग गम्भीरतापूर्वक कुराकानी गरेको मन्त्री ज्ञवालीले बताए । विभिन्न पत्राचारपछि यहि १२ अप्रिल अर्थात् चैत ३० गते नेपाल र भारत दुवै देशका नापी टोलीहरु त्यहि ठाउँमा गई स्थलगत अध्ययन गर्ने सहमति भएको पनि उनले जानकारी गराएका छन् । त्यस्तै उनले म्यानमार हिंसाप्रति नेपाल सरकारको गहिरो चिन्ता र चासो रहेको बताए । शान्तिपूर्ण प्रदर्शनमा पनि धेरै नागरिकको ज्यान गएको आफूहरुले देखेको भन्दै मन्त्री ज्ञवालीले त्यसविरुद्ध संयुक्त राष्ट्रसंघले पारित गरेको ‘रिजुलोसन’ मा समेत नेपालले सर्मथन जनाएको बताए । नेपालको विदेश नीतिको आधारभूत पक्ष मानवअधिकार र लोकतन्त्र भएको भन्दै उनले सरकारले जुनसुकै हिंसाको विरोध गर्ने बताए ।

मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको केही दिन पहिलेको बंगलादेश भ्रमणबारे पनि प्रतिनिधिसभालाई जानकारी गराए । उनले राष्ट्रपतिको बंगलादेश भ्रमणका क्रममा भएका सहमतिबारे पनि जानकारी गराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार