एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन् । सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोजेका साहले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

८ बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी गरेका थिए । तर सहमति नजुटकाले विधान महाधिवेशनमा आफूहरु नजाने साहले बताएका छन् । उनले अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने मत राख्दै आएका छन् ।

विधान महाधिवेशन सुरु हुनुपूर्व शुक्रबार बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा साहले सहभागी नहुने निर्णय गरेका हुन् । यसअघि अघि असोज ८ गतेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे फरक मत प्रस्तुत गरेका थिए । पछिल्लो समय साह एमालेका बैठकमा जान छाडेका थिए । त्यस्तै उनी गृहजिल्ला रौतहटमा आईटी आर्मीको नाममा विभिन्न कार्यक्रममा व्यस्त रहँदै आएका छन् ।

नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक मानिएको नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरु हुदैँछ। अन्तरविरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसद्को ठूलो दल एमालेले करिब छ हजार प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा तीन दिनसम्म विधान महाधिवेशन गर्न लागेको हो ।

आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ । एमालेको गत २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो । महाधिवेशनको उद्घाटन असोज १५ गते पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको विधान महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ ।

उद्घाटन सत्रलाई पार्टी अध्यक्ष ओलीलगायतका नेताहरुले सम्बोधन गर्दैछन्। उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

महाधिवेशनको दोस्रो दिन यही असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार