नेकपा एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै गोदावरी पुर्‍याउने

नेकपा एमालेका कार्यकर्ताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कर्टिङ गरेर गोदावरी पुर्‍याउने भएका छन् । अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै विधान महाधिवेशन स्थल गोदावरी पुर्‍याउने भएका हुन् । गोदावरीस्थित सम्मेलन केन्द्रमा आजबाट सुरु हुने विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष ओलीले गर्दैछन् । आगामी मङ्सिरको दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशन राजनीतिक क्षेत्रमै पहिलो हो । एमालेको विसं २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो । राष्ट्रिय राजनीति र पार्टी जीवनमा देखापरेका यावत् समस्याबारे विधान महाधिवेशनमा व्यापक छलफल हुनेछ । महाधिवेशनको उद्घाटन आज अपराह्न १२ः१५ बजे पार्टीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहबीच पानसमा बत्ती बालेर गर्ने कार्यक्रम छ । उद्घाटनसत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

महाधिवेशनको दोस्रो दिन यही असोज १६ गते समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ । महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव तथा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

विधान महाधिवेशनमा सो पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिनुभएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि तथा पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्य प्रतिनिधि रहनेछन् । यसरी विभिन्न क्षेत्रबाट चुनिएर आएका छ हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा भव्य र सभ्यरुपमा महाधिवेशन सम्पन्न गर्ने तयारी भएको मूल व्यवस्थापन समितिको प्रचारप्रसार उपसमितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार