प्रतिगमनविरुद्ध आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने भन्ने ठाउँमा पुगें : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा आन्दोलन गर्ने बेला आएको बताएका छन् ।  बिहीबार काठमाडौँमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्ने बेला आएको बताएका हुन् । उनले आफुहरुको यो आन्दोलन हतियार नउठाई जितिने तर्क गरे ।
अहिलेको चुनाव निकै खर्चिलो भएको र खर्च गर्नेले मात्र चुनाव जित्न सक्ने अवस्था आएको उनको भनाई छ । त्यस्तै प्रचण्डले आफूलाई एमाले विभाजन गराएको भनेर लगाएको आरोप सही नभएको धारणा ब्यक्त गरेका छन् । यसअघि ओलीलाई पार्टीबाट निष्कासन गर्न हस्ताक्षर गर्ने नेताहरूले आफूलाई गलत आरोप लगाएको उनले बताए ।
प्रचण्डले आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमन गरेको र संविधानका उपलब्धि उल्ट्याउने काम भएकाले मिलेर लड्ने निर्णय लिएको जिकिर गरे । त्यस्तै प्रचण्डले प्रतिगमनविरुद्ध आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प देखे पनि जोखिम उठाएर लडेको बताएका छन् । ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ । प्रचण्डले भने, ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’
उनले अहिले पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको भन्दै सबैले गम्भीर भएर सोच्नुपर्ने पनि बताए । अखिल (क्रान्तिकारी)को सम्मेलन तीन दिनसम्म चल्ने छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार