खनाल–नेपाल समूहका विद्यार्थीद्वारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै एमालेको खनाल–नेपाल समूहका विद्यार्थी संगठन अनेरास्ववियुले आयल निगम घेराउ गरेका छन् ।

विद्यार्थीहरुले बबरमहलस्थित नेपाल नेपाल आयल निगमको कार्यालयअगाडि प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर, दलालहरू होसियारलगायतका प्लेकार्ड बोकेका थिए । प्रदर्शनपछि अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै निगममा ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले आम सर्वसाधारणको ढाड सेकिएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरे । उनले मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

ज्ञापन पत्र बुझ्दै आयल निगमका निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तराष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकाले नेपालमा पनि भाउ बढेको बताए । यद्धपी उनले विद्यार्थीको मागका बारेमा छलफल गर्ने आश्वासन दिए ।

नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृृद्धि गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार