सरकारद्वारा हवाई क्षेत्रको समस्याबारे छानबिन गर्न समिति गठन

सरकारले आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेको समस्या तथा चुनौतीबारे छानबिन गर्न समिति गठन गरेको छ । हवाईजहाज–हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न छानबिन समिति गठन भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयको सीएटीसीअ प्रमोद नेपाल सदस्य रहेका छन् । उड्ड्ययन प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव रहेका छन् ।

उक्त समितिले हाल हवाई उडानको दौरानमा हुन सक्ने घटना तथा दुर्घटनाबाट जनधनको क्षतिलाई रोक्न प्राधिकरण र सम्बन्धित कम्पनीहरूबाट भईरहेको पिरियोडिक मेन्टेसेन्स, अन्तर्राष्ट्रिय हवाई सुरक्षा नियम (आइकाओ) को मापदण्डको परिपालना लगायतका विषयलाई आधार बनाएर अध्ययन गर्नेछ । समिति गठनको मितिले तीन महिना भित्र अध्ययन प्रतिवेदन बुझाइसक्न भनिएको छ । सरकारले छानबिनका लागि ८ कार्यक्षेत्र तथा शर्त समेत तोकेको छ ।

समितिलाई नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने नेपालमा दर्ता भएका हवाईजहाज/हेलिकोप्टरहरुको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन अनुसन्धान गरी प्रत्येक वायुयानसहितको सबै वायुसेवाको सम्परीक्षण गर्नेलगायत कार्यक्षेत्र तथा सर्तहरु तोकिएका मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार