किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । अमेरिकी नागरिक किरणलाई गृह मन्त्रालयले नेपाल प्रवेशमा रोक लगाएको हो । अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् ।

गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेर सन् २०२१ भर नेपाल आउन पाउँदैनन् उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् । नेपाल र अमेरिकाबीच भीषा पारस्पारिकता भएपछि पर्यटन भीषामा दुवै देशका नागरिक एकअर्को मुलुकमा १८० दिन बस्‍न पाउँछन् । अमेरिकाबाहेकका अन्य मुलुकका नागरिकहरुले पर्यटक भीषामा १५० दिन मात्र नेपालमा बस्न पाउँछन् । किरण सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो ।

उनी झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् । भुटानबाट सर्वस्व त्यागेर उनको परिवार नेपाल आएको थियो । गजमेर गत साउन २४ गते भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका थिए । ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार