माओवादी नेता वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

लामो समयदेखि कमलपित्त (जण्डिस) रोगबाट पीडित नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’को थप उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् । पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक गएका हुन् । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन श्रीमती ओनसरी घर्तीका साथ बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक प्रस्थान गरेका हुन् ।

नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरुको सल्लाहपछि थप उपचारका लागि उनलाई थाइल्याण्डको बु्रमुङगार्ड अस्पताल लगिएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार