ट्रकले ठक्कर दिँदा आमा-छोराको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठक्कर दिएको थियो । कलेज जान हिँडेका छोरालाई बाटोसम्म पुर्‍याउन आएकी आमा समेतलाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन्।

ठक्कर दिने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार