अमेरिकामा बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउँदै ‘ककाकि’

चितवनकी सरिता रेग्मीले आफ्नै घरमा रहेको सेतोपाटीमा कोरेको कप, कलम, घर, नङ जस्ता शब्दलाई अमेरिकामा रहेका मिलन सैजु, अनिका रौनियार, सौर्य र मिफुने गुरुङले एकसरो सर्सर्ती सुनाउँछन् । नेपाली सिक्दै गरेका विद्यार्थीलाई पढाइने सो कक्षामा हिजो आज नेपाली सिकाउन अँग्रेजी शब्दलाई अनुवाद गर्नुपर्दैन । शिक्षिका रेग्मी खुसी हुँदै भन्छिन् ‘हामी केहीबेर पढाउँछौं, केही बेर गीत गाउँछौं बच्चाहरूले यसैमा मनोरञ्जन लिने गरेका छन् ।’ एकछिन पढाएपछि ‘रेसम फिरिरि… भाकामा विद्यार्थीसँगै गीत गुनगुनाउन थाल्छिन् सरिता ।

हप्तामा एक दिन हुने उक्त तहका विद्यार्थीको कक्षा नेपालमा झिसमिसे बिहानीमा नै सुरु हुन्छ र एक घण्टासम्म चल्छ । अमेरिकामै जन्मिएर यी ४ जना विद्यार्थीहरू स्पष्ट नेपाली बोल्न जान्दैनन् । तर उनीहरूलाई रेसम फिरिरिको धुनले भने लोभ्याउन थालिसकेको छ । सरिताले गाउन सुरु गरेपछि उनीहरू पनि खुसीहुँदै रेसम फिरिरिको भाकामा ताली बजाउन थाल्छन् । यो दृश्य ककाकिद्वारा अमेरिकामा रहेका नेपालीका छोराछोरीको लागि सञ्चालन गरिएको नेपाली भाषा शिक्षण कक्षाको एउटा दृश्य हो । आफ्ना छोराछोरीलाई नेपाली भाषा र संस्कृतिको बारेमा जानकारी दिन चाहनेहरूले झण्डै छ महिनाअघिदेखि यसरी अनलाइन कक्षाबाट नेपाली पढाउन थालेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार