एमाले केन्द्रीय कमिटीले पारित गर्‍यो ३ वटा प्रतिवेदन, घनश्याम भुसालले राखे फरक मत

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा प्रतिवेदन पारित गरेको छ । आइतबार तुलसीलालस्मृति प्रतिष्ठानमा सम्पन्न बैठकले अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित पारित गरेको एमाले प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले अव पार्टीको सम्पूर्ण ध्यान विधान महाधिवेशनमा केन्द्रीय हुने र महाधिवेशनमा प्रवासका समेत गरी करिब ५ हजारले भाग लिने बताएका छन् ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी तथा सदस्यदेखि प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिने उनले बताए । त्यस्तै बैठकले आयस्रोत नखुलाई लगानी गर्न पाइने बजेटको व्यवस्थाप्रति आपत्ति जनाएको छ । बजेटमार्फत गरिएको उक्त प्रबन्धले नेपाल कुनै पनि बेला कालोसूचीमा पर्न सक्ने भएकाले तत्काल फिर्ता लिन माग गरिएको भट्टराईले बताएका छन् ।
त्यस्तै बैठकपछि एमालेका उपमहासचिव घनश्याम भुसालले बैठकमा आफूले फरक मत राखेको जानकारी दिए । उनले समाजवादमा जाने आधार र जनताको बहुदलीय जनवादको आधिकारिक परिभाषा हुनुपर्ने बताएका छन् ।
त्यसअघि बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बाहेकका विषयमा पार्टी अलमलिन नहुने बताए । उनले पार्टी सरकारबाट हट्दैमा आत्तिनु नपर्ने भन्दै चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको उल्लेख गरेका छन् । त्यस्तै उनले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको दाबी गरेका छन् । उनले प्रतिवेदनमाथि आएका सबै सुझावलाई सकारात्मक रूपमा लिएको बताए ।  एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार