समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातैजना पदाधिकारीले किन दिए संयुक्त राजीनामा ?

सरकारले राजनीतिक प्रतिशोध राखेर अप्रत्यक्ष रूपमा दबाब दिएको भन्दै समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । शुक्रबार परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले राजीनामा दिएका हुन् ।  उनीहरूले वर्तमान सरकारले संस्थामाथि राजनीतिक हस्तक्षेप गरेको आरोप लगाए ।

उपाध्यक्ष खतिवडाले संस्थामा कार्यकर्ता भर्ती गर्नका लागि राजनीतिक पूर्वाग्रहका आधारमा वर्षौँदेखि कार्यरत कर्मचारीलाई हाजिर नगराउन दबाब आएको बताए । उनले परिषद्का पदाधिकारीले अवाञ्छित दबाबलाई स्वीकार गर्न नसक्ने भन्दै प्रधानमन्त्रीसमक्ष सामूहिक राजीनामा पेस गरेको जानकारी दिएका छन् । उनले सरकार कानुनको बर्खिलाप गइरहेको आरोप लगाउँदै परिषद् रूपान्तरणका लागि मनोनीत नेतृत्वले लिएको लक्ष्यमा धक्का लागको धारणा व्यक्त गरेका छन् । खतिवडाले यस प्रवृत्तिका विरुद्धमा सङ्घर्षको मैदानमा उत्रँदै खबरदारी गर्ने निष्कर्षमा पुगेको बताए ।

त्यस्तै सदस्य सचिव पुष्कर खातीले सामाजिक संस्थामा राजनीति गर्न नहुने र आफूहरूले १४ महिना संस्थालाई राजनीति मुक्त राखेको दाबी गरे । उनले सरकारले संस्थालाई अघि बढाउनका लागि निकास दिन नसक्ने भएकाले आफूहरू बाहिरिएको जिकिर गरेका छन् । उपाध्यक्ष खतिवडासहितको परिषद्का पदाधिकारीलाई केपी ओली नेतृत्वको सरकारले मनोनीत गरेको थियो । परिषद्को अध्यक्ष भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार