दसैँका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

असोज ११गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । दसैँका लागि काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउन लागिएको हो ।यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको हो ।

यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने माग राख्दै आएका भए पनि सडक मर्मत गर्ने वचनपछि टिकट खुलाउन सहमत भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाउन प्रयास भइरहेको बताइएको छ ।

हाल काठमाडौँको नयाँबसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकासँग ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कबाट हाल दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार