गठबन्धनमा विवाद छैन, यसको आधार राष्ट्रियता हो– अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलको सत्तारुढ गठबन्धनमा विवाद नभएको बताउनुभएको छ ।

बिहीबार बानेश्वरमा पार्टीनिकट युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिले मात्र नभइ चुनावसम्म र त्यसपछि पनि गठबन्धन कायमै रहने बताउनुभयो । गठबन्धनलाई अघि बढाउन दस्तावेज निर्माणको काम भइरहेको भन्दै उहाँले स्थानीय तहमा समन्वयका लागि समन्वय समिति रहने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘५ वटै दलको बीचमा निकै राम्रो सम्बन्ध छ । हिजो मात्रै बालुवाटारमा बसेको बैठकमा यसबारेमा जोड दिइएको छ । ५ दलको राजनीतिक मोर्चाको दस्तावेज बन्दैछ । हामी पालिका पालिकामा समन्वय समिति बनाउने छौं । चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन चाहन्छौं । यसको आधार राष्ट्रियता हो ।’

फरक प्रसङ्गमा अध्यक्ष नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद(जबज)लाई आत्मसात् गर्न चाहेको बताउनुभयो । जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने उहाँको भनाइ छ । पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने उहाँको प्रतिबद्धता छ ।

माओ, होचिमिन्हजस्ता नेताहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट सिकेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबित्तिकै युवाहरूलाई रोजगारी दिने काममा जोड दिने बताउनुभयो । रोजगारीका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि उहाँले पार्टीका विद्यार्थी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार