तरलता संकट झनै गहिरियो, थप ३० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं। बैंकिङ प्रणालीमा तरलता संकट गहिरिएपछि नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले ७ दिनको रिपो अक्सनमार्फत बजारमा सो रकम पठाउन लागेको हो ।

रिपो असोज १४ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा तरलता धेरै घटेको छ । प्रणालीमा अहिले १६ अर्ब रुपैयाँ हारहारीमा मात्र तरलता रहेको छ । तरलताको संकट चुलिएपछि बैंकहरुको अन्तर बैंक ब्याजदर पनि माथि पुगेको छ । गत भदौमा मात्र केन्द्रीय बैंकले पटक पटक गरेर ७० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाएको थियो ।

 

बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा बढी लिएका छन् । ५ प्रतिशत ब्याजमा स्थायी तरलता सुविधा बैंकहरुले उपयोग गरिरहेका छन् । सबै बैंकको सीडी रेसियो ९० प्रतिशत हारहारीमा छ । बैंकहरुले थप लगानी गर्न निक्षेप उठाउनु पर्ने अवस्था आएको छ ।

बैंकहरुले असोज १ गतेबाट लागू हुने  नयाँ ब्याजदर लागु गरिसकेका छन् । बैंकहले मुद्धति निक्षेपको ब्याजदर बढाएर १० प्रतिशत पुर्याएका छन् । ब्याजदर बढाउँदा पनि बैंकहरुले निक्षेप बढाउन सकेका छैनन् । बैंकहरुले निक्षेप तानातान गरिरहेका छन् ।

राष्ट्र बैंकले सीसीडी रेसियोलाई हटाएर सीडी कायम गर्नु, रेमिट्यान्स अप्रवाहमा कमी र आयातमा भएको वृद्धिले तरलताको संकट बढाउन सहयोग पुगेको छ । यस्तै सरकारको ढुकुटीमा जम्मा भएको रकम बैंकिङ प्रणालीमा आउन सकेको छैन । सरकारले खर्च गर्न नसक्दा पनि यसको प्रभाव तरलतामा पर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार