पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपुर सडक खण्डमा मर्मत शुरु

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपुर जिल्लामा जीर्ण बनेको राजमार्ग मर्मत गर्न थालिएको छ ।

राजमार्गमा परेका खाल्डाखुल्डीमा कालोपत्र गरेर मर्मत गर्न थालिएको छ । यसअघि राजमार्गमा परेका खाडलमा ग्राभेल गरेर पुर्ने गरिएकोमा अहिले कालोपत्र गरेर मर्मत थालिएको छ ।

नारायणगढ–बुटवल सडक खण्ड विस्तार सुरु भएयता झन्डै दुई वर्षदेखि राजमार्ग मर्मत गरिएको थिएन । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले मर्मत नगर्ने र सडक विभागले ठेक्का लागेकाले बेवास्ता गर्दा राजमार्ग जीर्ण बनेको थियो ।

राजमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले कालोपत्रसहित मर्मत सुरु गरेको नारायणगढ बुटवल सडक विस्तार आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताएका छन् ।

दशैँसम्ममा नवलपुर खण्डमा जीर्ण रहेको सडक मर्मत गरिसक्ने निर्माण कम्पनीले जनाएको आचार्यले बताएका छन् ।

Loading...