सरकारले बढायो धानको समर्थन मूल्य

सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ रुपैयाँ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ रुपैयाँले बढी हो ।

गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ७३५ रुपैयाँ र मध्यम धानको मूल्य दुई हजार ८८५ रुपैयाँ तोकिएको थियो ।

समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।

Loading...