कांग्रेसको महाधिवेशन तालिका फेरि परिवर्तन, दसैंअघि पालिका अधिवेशनमात्रै

कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले दशैंअघि स्थानीय तहको अधिवेशन मात्रै गर्ने निर्णय गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने सहमति भएको बताए ।

नेता पौडेलले भने, ‘दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’

यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ ।

‘९ गतेका लागि निर्धारित पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ । पूर्वनिर्धारित समयअनुसार नै पालिकाहरुको अधिवेशन हुनेछ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुंग्याउने विषय छ । त्यसलाई टुंग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नछ ।’

पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता पौडेल समूहको बैठक बसेको थियो । पौडेल समूहले सबै अधिवेशनहरु सबै जिल्लामा एकै समयमा हुनुपर्ने निर्णय गरेको थियो ।

पछिल्लो पटक संशोधित कार्यतालिकामा ५ असोजमा बाँकी जिल्लाको वडा अधिवेशन, ९ गते पालिका अधिवेशन, १२ गते प्रदेश सभा निर्वाचन क्षेत्र, १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार