बेल्जियमको सुन्दरी प्रतियोगिताको पहिरन डिजाइनरमा नेपाली महिला छनोट

सुन्दरी प्रतियोगिता बेल्जियमको फाइनल ‘गाला राउन्ड’ का उत्कृष्ट दस प्रतिस्पर्धीले लगाउने पहिरनको प्रारुप पार्ने (डिजाइनर) मा आरती प्रधान काफ्ले छनोटमा परेकी छन् ।

बेल्जियममा धेरै प्रसिद्ध मानिने यस प्रतियोगितामा पहिरन डिजाइनर गर्नेमा आरती युरोपमै पहिलो नेपाली हुन् । पहिरन डिजाइनरका रूपमा आरतीले नेपाल र बेल्जियमबाट सम्बन्धित विधामा उच्च शिक्षा हासिल गरेकी छन् । पछिल्लो समय विश्वमा आफ्नो सीप क्षमतालाई प्रयोग गर्दै जन्मभूमिको नाम राख्नमा नेपाली निकै नै अग्रसर छन् ।

बेल्जियमको लिन्त सहरमा भएको फाइनलमा अन्तिम छनोटमा परेका १० जना सुन्दरीले उनले डिजाइन गरेका पहिरनमा ‘क्याट वाक’ गरेका थिए । उनको डिजाइनको उत्कृष्टताबाट प्रभावित भएर सुन्दरी ग्यान्र्ड बेल्जियमको आयोजक टोलीले फाइनल राउन्डको पहिरन डिजाइनको जिम्मा दिएको थियो । प्रतियोगीहरुको पहिरन देखेर आयोजकलगायत सबै प्रभावित भएका थिए ।

सुन्दरी ग्यान्र्ड बेल्जियम जस्तो ख्यातिप्राप्त प्रतियोगिताको पहिरन डिजाइन गर्ने अवसर मिल्नु नेपाली समुदाय र आफ्नो परिवारका लागि गौरवको विषय भएको उनका श्रीमान् अर्जुन काफ्लेले बताए । यस पटकको सुन्दरी प्रतियोगिता बेल्जियमको उपाधि भारतको तिब्बेतियन शरणार्थी शिविरमा जन्मिएर बेल्जियम फ्लेमिस बार्बान्टमा बस्ने २० वर्षीय जोम्की तेन्जिनले जितेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार