श्रीमानको घाँटी थिचि हत्या गरेको आरोपमा ५५ वर्षीया माइली पक्राउ

श्रीमानको घाँटी थिचेर हत्या गरेको आरोपमा गोरखा नगरपालिका–७ पौवाखेत बस्ने ५५ वर्षीया माइली कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान ५६ वर्षीय आइतबहादुर कामी सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । अनुसन्धानको क्रममा मृतक आइतबहादुरलाई आफ्नै श्रीमती माइलीले घाँटी थिचेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

मृतक आइतबहादुरको स्थायी ठेगाना धार्चे गाउँपालिका–२ केरौँजा हो । २०७२ को भूकम्पपछि प्राप्त अनुदानले सदरमुकामस्थित पौवाखेतमा घर बनाएर उनीहरु बस्दै आएका थिए ।

श्रीमानले आफ्नो चरित्रमाथि बारम्बार शंका गर्ने, दैनिक जसो मदिरा सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने कारणबाट आजित भई घाँटी थिची हत्या गरेको आरोपितले प्रहरी समक्ष बयान दिएको डीएसपी दाहालले बताए ।

पक्राउ परेकी माइलीलाई बुधबार जिल्ला अदालतमा कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।

Loading...