लोपोन्मुख वनकरिया समुदायले राष्ट्रिय परिचयपत्र बनाउँदै

मकवानपुरको मनहरि गाउँपालिका– ४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाइरहेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन पाएकामा निकै खुसी लागेको पूजा वनकरियाले बताए । उनले भने, “राष्ट्रिय परिचयपत्रका बनाउन पाउँदा धेरै खुसी लागेको छ ।”

यसैगरी ३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताए । आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उनले अब राज्यका अङगमा आफूहरु पनि सामेल हुन थालेकामा खुसी लागेको बताए ।

प्राथमिक शिक्षा अध्ययन गरेका उनले आफ्ना भावी सन्नती अब शिक्षाको उज्यालोबाट वञ्चित हुन नपर्नेमा आशावादी रहेको जानकारी दिए । नेपालमा नै जम्मा ९१ जनसङ्ख्या रहेको उक्त समुदायका ३० जनाले गाउँपालिकाद्वारा सो विद्यालयमा सञ्चालन गरिरहेको राष्ट्रिय परिचयपत्र शिविरमा आफ्नो परिचयपत्रसहित उपस्थित भइरहेकका छन् । मनहरि– ४ का वडाध्यक्ष धु्रव खड्काले स्थानीयस्तरमा सेवा प्रवाह गरेको जानकारी दिए ।

सो विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले भने, “केही वर्ष अघिसम्म वनमा आधारित जीवनशैली रहेको वनकरियाको हाल शिक्षित हुदैछन्, राज्यको सेवा सुविधामा पहुँच बढ्दै गएको यसले हामीलाई पनि खुसी बनाएको छ ।” वनकरिया बस्तीमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उनले बताए ।

ती समुदायका छात्रछात्रालाई घरमा नै गएर विद्यालय भर्ना अभियान चलाएको प्रअ आचार्यले जानकारी दिए । उनले विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव भएको बताए । हालसम्म पम्फा, सन्तोषी र अनिल वनकरियाले माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण भएको जानकारी दिए । यसैगरी कक्षा १ देखि १० सम्म कूल १५ छात्रछात्रा विद्यालय आउने गरेका छन् र मनहरि– ४ का वडासचिव विदुर पाठकले १० दिनसम्मको शिविरमा जम्मा ९०० जनाले राष्ट्रिय परिचयपत्र बनाएको बताए । शिविरको पाँच दिन थप गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार