को हुन् परराष्ट्र मन्त्री नारायण खड्का ? यस्तो छ जीवनी

परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो ।

विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका छन् । विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य छन् । विसं २०७० मा उनी सहरी विकास मन्त्री थिए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार थिए ।

उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन् । राजनीतिक आन्दोलनका क्रममा काठमाडौँ र विराटनगरमा पटकपटक पक्राउ परेका उनी विभिन्न समयमा पाँचपटक जेल पनि परेका थिए ।

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन् । अर्थशास्त्रमा विद्यावारीधि गरेका उनी नेपाली कांग्रेसको प्रभावशाली नेता मानिन्छन् । उनी संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार