ललिता निवास प्रकरणमा विजय गच्छदारले भने– प्रतिशोध राखेर झुटा मुद्दा चलाइयो

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको बताए ।

नेता गच्छदारले आफूलाई तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने दूषित उद्धेश्यले मुद्दा चलाएको बताए । ‘ममाथि लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजातहरु अध्ययन गरिएमा मेरोविरुद्ध लगाइएका आरोपहरु झूटा हुन् भन्ने प्रमाणित हुन्छ । यद्यपि ममाथि छानबिन र अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र छ,’ गच्छदारले भने, ‘तर दूषित उद्धेश्यले मेरो खुला किताबसरह रहेको मेरो राजनीतिक जीवन ध्वस्त पार्ने प्रयास भएको छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि सरकारको छायाँको रुपमा काम गरर्दा निष्पक्ष र स्वतन्त्र हुन नसकेको नेता गच्छदारले बताए । ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको बताए । ‘मैले व्यक्तिगत रुपमा लाभ लिएर नेपाल सरकारलाई हानी पु¥याएको अवस्था छैन’ उनले भने ।

गच्छदारले अख्तियारले छानीछानी मुद्दा चलाउने काम गरेको पनि आरोप लगाए । ‘उन्मुक्ति दिन नपर्नेलाई उन्मुक्ति दिएको छ, राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको छ’ उनले भने ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले संवैधानिक आयोगहरु राजनीतिक प्रभावमा पर्दा निर्दोष व्यक्तिहरु फन्दामा पर्ने र दोषीहरु छुट्ने गरेको बताए । ‘सरकारको राजनीतिक दबाब र प्रतिसोधमा परेर संवैधानिक आयोगले जसरी पनि मुद्दा चलाउन सक्छ भन्ने जगजायर भएको छ,’ उनले भने ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय सक्रिय राजनीतिबाट गुमनाम भएका गच्छदार गत ३० असारमा विशेष अदालतबाट १० लाख धरौटीमा छुटेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार