नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

राजन पोखरेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि राजकुमार क्षेत्री निमित्त महानिर्देशक बनेका छन् ।

१२ औं तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशक तोकेको हो । अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए ।

क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनी २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा कार्यरत थिए ।

विमानस्थलको महाप्रबन्धक हुँदा क्षेत्रीले बुटिक एयरपोर्टको कन्सेप्टमा उल्लेख्य काम गरेर निकै चर्चा कमाएका थिए । क्षेत्रीको कार्यकालमा पुरै विमानस्थलको मुहार फेरेको भन्दै केहीले तत्कालिन समयमा उनलाई अर्को कुलमान समेत भन्ने गरेका थिए । उनीसँग एएनएस डिपार्टमेन्ट, इन्जिनियरिङ निर्देशनालय लगायतमा काम गरेको अनुभव छ ।

सरकारले सहयोग गरे प्राधिकरणको नेतृत्वमा पुगेका क्षेत्रीको कार्यकालमा नेपालको उड्डयन क्षेत्रमा उल्लेख्य फड्को मार्ने धेरैले अपेक्षा गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार