ह्यान्डी क्राफ्टभित्र राखेर लागू औषध विदेश निर्यात गर्ने गिरोह पक्राउ

लागू औषध नियन्त्रण ब्युरोले ह्यान्डी क्राफ्टभित्र राखेर लागू औषध विदेश निर्यात गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

ब्युरोले लागू औषध विदेश निर्यात गर्ने गिरोहलाई चरेस लुकाउन प्रयोग गरिने ह्यान्डी क्राफ्टका सामानहरू तथा सो बनाउन प्रयोग हुने औजारसहितको कारखानाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागू औषध कारोबारको मुद्दामा १९ वर्ष जेल बसेर निस्केका नुवाकोटको विदुर नगरपालिका– १३ का उर्पा तामाङसहित ७ जना रहेका छन् ।

ब्युरोका अनुसार तामाङले २०७३ सालदेखि अहिलेसम्म ८० किलो चरेस विदेश पठाइसकेको अनुसन्धानमा खुलेको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए । कतारलाई नयाँ गन्तव्य बनाएर नेपालको एयरपोर्ट हुँदै लागू औषध कतार लैजान खोजेको देखिएको थापाले बताए ।

ब्युरोका अनुसार पक्राउ परेका गिरोहले नेपालबाट भारतको कोलकत्ता हुँदै बैंकक, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा चरेस तस्करी गरेको खुलेको छ । पक्राउ परेकाका सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरि म्याद थप गरि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार