मनपरी मूल्य निर्धारणले किसान र उपभोक्ता मर्कामा

बागलुङ नगरपालिका–३ गौडाकोटमा तरकारी खेती गर्ने सरिता शर्माले बागलुङ बजारमा तरकारी बिक्री गर्छिन् । बजारमा रहेका फलफूल तथा तरकारी व्यवसायीले उनले तरकारी सबै खरिद गर्छिन् ।

बजारमा अरू जिल्लाबाट आएको तरकारी कम भएको बेला सरिताले राम्रो मूल्य पाउँछिन्, बाहिरी जिल्लाको तरकारी प्रशस्तै आयो भने उनको तरकारीको मोलमोलाइ हुन्छ । उनको मुख्य पेसा नै यही हो । तरकारीबाटै उनी र उनको परिवार पालिएको छ ।

बजारमा तरकारी आएको बेला खुसुक्क फर्ममा पुग्छन् र भन्छन्, “अन्त नभन्नु मूल्य राम्रो दिन्छु,” सरिता भन्छिन्, “बजारमा तरकारी प्रशस्तै भए उनीहरुकै पसलमा पु¥याउँदासमेत वास्ता गर्दैनन् तर तरकारीको न कुनै तोकेको मूल्य छ न त मूल्य निर्धारण गर्ने निकाय नै ।”

बजारमा तरकारीको मूल्य तोक्ने कुनै निकाय नभएकै कारण मनपरी मूल्य र खुसुक्क मूल्य निर्धारण हुने गरेको उनको गुनासो छ । उपभोक्ता र किसान शर्मा बीचको दूरी नजिक छ तर उपभोक्ताले सिधै सरिताको तरकारी खरिद गर्न सकेका छैनन् भने उनले फलाएको तरकारीले उपभोक्ताले तिरेको मूल्य पाएको छैन । बिचौलियाका कारण बागलुङ बजारमा तरकारीको मूल्यमा मनपरी चल्छ । यसको मारमा उपभोक्ता र किसान दुवै छन् भन्छन्, अर्का किसान कोपिल बुढाथोकी ।

“बजारमा हप्तामा एक पटक मासुको मूल्य तोकिन्छ, दूध, खाद्यान्न र अन्य उपभोग्य वस्तुको मूल्य तोकिएबमोजिम हुन्छ,” बुढाथोकी भन्छन्, “कुश्मामा पहिरो जानुअघि ३० रुपैयाँ किलोको तरकारी पहिरोले बाटो रोक्दा किन ८० पुग्छ ? उत्पादन जिल्लामै छ, किसानको बारीमा कुहिएको छ, बजारमा मनोमानी चल्छ ।” तरकारीको थोक मूल्य र बजार मूल्य निर्धारण नहुने गरेकै कारण उपभोक्ता र किसान मर्कामा परेको बुढाथोकीले गुनासो गरे ।

बजार मूल्यले उपभोक्ता थिचिँदा किसानको उत्पादनले मूल्य नपाएकै कारण किसानको अवस्था नसुध्रिएको किसान नारायणप्रसाद शर्मा बताउँछन् । “हेर्नुस् वर्षौं भयो तरकारी खेती गरेको, बजारको मूल्य हेर्दा मालामाल भयो होला भन्ने लाग्दो हो तर किसानको अवस्था उस्तै छ,” शर्माले भने, “किसानले बीउ मलसमेत पु¥याउन सक्दैन, किसान र उपभोक्ता दुवै ठग्ने को हो खोज्नु पर्दैन् ?”

किसान र उपभोक्ताको गुनासो व्यापक रहे पनि जिल्लामा दैनिक उपभोग्य वस्तुको थोक तथा खुद्रा मूल्य तोक्ने निकाय नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । “अहिले हामीले थोक तथा हाटबजार सञ्चालनका लागि परामर्श थालेका छौँ, समूह र सहकारीले यस्तो बजार सञ्चालन गर्ने भए कार्यसमिति तयार हुन्छ, सोही समितिले मूल्य निर्धाराण र व्यवस्थापन गर्छ,” उनले भने । सरकारी निकायले बेला बेलामा बजारको अनुगमन गर्ने गरे पनि किसानको मर्काबारे भने कसैले आवाज नउठाउने किसानको गुनासो छ ।

बागलुङ बजारमा कृषि हाटबजार तथा थोक बजार सञ्चालनका लागि जिल्ला कृषि सहकारी सङ्घले नगरपालिका, कृषि ज्ञान केन्द्र र उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा काम थालेको छ । सङ्घका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा कृषि हाटबजार तथा थोक बजार व्यवस्थापन समिति गठन भइसकेकाले अब भने किसान र उपभोक्ताका समस्या समाधान हुनेगरी काम अघि बढ्ने भट्टराईले बताए ।

किसानको उत्पादन खरिद गरेर उपभोक्तालाई पु-याउने व्यवसायीको पनि आफ्नै गुनासो छ । डोकोमा बोकेर घरघरमा पुग्नेहरुका कारण किसानको उत्पादनको मूल्य एकनास नहुने व्यवसायी गोपाल सापकोटाले बताए । “यहाँको सरकारले दर्ता गराएर कर असुल्छ हामीसँग तर हामीले कर तिर्ने गरी व्यपार गर्नसमेत पाउँदैनौँ,” सापकोटाले भने, “हामीले व्यवसाय कर तिर्नका लागि मात्रै गर्ने हो र ?,” तरकारीको बजार र उपभोगलाई व्यवस्थित गर्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने व्यवसायी तथा किसानको माग छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार