ओलीको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सक्कल फाइल झिकाउने आदेश जारी भएको छ ।

मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको हो ।

यस्तै नेकपा एमालेले गरेको १४ सांसद कारबाहीको निर्णयलाई मान्यता नदिने सभामुखको निर्णयको सक्कल फाइल पनि माग गर्ने आदेश दिएको छ ।

सर्वोच्चले के कति आधारमा निर्वाचन आयोगले दल त्यागसम्बन्धी कानुनमा टेकेर निर्णय गरेको हो, त्यसैगरी सभामुखले के कति आधारमा निर्णय गरेका हुन् सो को सक्कल फाइलको अध्ययन गरिसकेपछि मात्रै निर्णय गर्ने भन्दै सो फाइल झिकाउन आदेश दिएको हो ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट वैशाख २७ मा विश्वासको मत लिने क्रममा अनुपस्थित भएर ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै अदालतमा रिट दायर गरेका छन् । वैशाख २७ गतेको विश्वासको मत लिने क्रममा २८ जना एमाले सांसद अनुपस्थित रहेका थिए । त्यसमध्ये साउन २५ गते १४ सांसदलाई कारबाही गरेको एमालेले जनाएको छ । सो निर्णय कार्यान्वयन गराउन एमालेले भदौ १ गते सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराएको थियो । तर सभामुख सापकोटाले आवश्यक निर्णय नगरेको भन्दै ओली सर्वोच्च अदालत पुगेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार