घाँस काट्न गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए । घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको स्थानीयवासी राजकुमार साहले जानकारी दिए ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते खत्वेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी साहले बताए । खत्वेको हात्तीको आक्रमणबाट मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् ।

पटक–पटक जङ्गली जनावरको आतङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयवासीले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन् । जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेको स्थानीयवासी साहले बताए ।

केही दिन अगाडि मात्र जङ्गली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका–२ का एक जनाको समेत मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार