नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टीको विधान अधिवेशनमा पेस गर्ने विधान संशोधन, सङ्गठन र राजनीतिक प्रतिवेदनलाई सुझावसहित केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको छ । ललितपुरस्थित तुलसीलालस्मृति प्रतिष्ठानमा सोमबार बसेको बैठकले तीनै वटा प्रतिवेदनमाथि छलफल गर्दै सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको हो । उक्त प्रतिवेदनहरू असोज ७ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
त्यस्तै केन्द्रीय कमिटी बैठकमा पनि उक्त प्रतिवेदनमाथि छलफल हुने र आवश्यक सुझावसहित अन्तिम रुप दिएर विधान अधिवेशनमा पेस गरिने भट्टराईले बताए । विधान प्रतिवेदन ९ औ महाधिवेशनको निरन्तरता भएको र सङ्घीय संरचना अनुसार केही परिमार्जन गरिएको उनले जानकारी दिएका छन् । विधान संशोधनमा प्रतिवेदनमा तीन उपाध्यक्ष रहने व्यवस्था गरिएको र अध्यक्ष लगायतका पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था रहेको पनि भट्टराईले बताए । एमालेले असोजको १५ देखि १७ सम्म ललितपुरमा विधान महाधिवेशन बस्ने तय भएको छ ।
फेसबुकबाट प्रतिक्रिया